Below Menu
Below Menu

बुङ्गल हाइड्रोको आईपीओमा सर्वसाधारणले भदौ १६ गतेदेखि आवेदन दिन पाउने

बुङ्गल हाइड्रोको आईपीओमा सर्वसाधारणले भदौ १६ गतेदेखि आवेदन दिन पाउने

काठमाडौं : बुङ्गल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। 

जसमध्ये आठ करोड ३० लाख ८२ हजार ४०० रुपैयाँ बराबरको आठ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित स्थानीयका लागि र दुई करोड सात लाख ५० हजार रुपैयाँ बराबरको २ लाख ७ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै सामूहिक लगानी कोषहरुका लागि एक लाख ३ हजार ७५० कित्ता र कर्मचारीहरुका लागि ६२ हजार २५० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

बाँकी रहेको १७ करोड एक लाख ५० हजार रुपैयाँ बराबरको १७ लाख एक हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। 

कम्पनीको शेयरमा भदौं १९ गतेसम्म आवेदन दिन सकिने छ भने ढिलोमा भदौं २९ गतेसम्म निष्कासनमा रहने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा  हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

Advertisment