Below Menu
Below Menu

निष्क्रिय कर्जा र पूँजीकोष अनुपातका आधारमा लघुवित्तहरुले २५ प्रतिशतसम्म लाभांश बाँड्न पाउने 

निष्क्रिय कर्जा र पूँजीकोष अनुपातका आधारमा लघुवित्तहरुले २५ प्रतिशतसम्म लाभांश बाँड्न पाउने 

काठमाडौं : लघुवित्तहरु वित्तीय संस्थाहरुले अब खराब कर्जा र पूँजीकोष अनुपातको आधारमा २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएक छन् । नेपाल राष्ट बैंकले आइतबार एक सर्कुलर जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

राष्ट्र बैंकले लघुवित्तहरुको पूँजीकोष अनुपात तथा पछिल्लो असार मसान्तको निष्क्रिय कर्जा अनुपातलाई आधार मानेर ५ देखि २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने व्यवस्था गरेको हो।

यस अघि वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको थियो । 

नयाँ व्यवस्था अनुसार लाभांश वितरणपछिको पूँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि र निष्क्रिय कर्जा अनुपात ५ प्रतिशतभन्दा कम भएका लघुवित्तहरुले २५ प्रतिशत लाभांश वितरण गर्न सक्नेछन्। 

त्यस्तै, पूँजीकोष अनुपात १० देखि १२ प्रतिशत र निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम हुने लघुवित्तले २० तथा ८ देखि १० प्रतिशत पूँजीकोष अनुपात र ५ प्रतिशतभन्दा कम निष्क्रिय कर्जा हुने लघुवित्तहरुले १५ प्रतिशत लाभांश वितरण गर्न सक्नेछन्।

साथै पूँजीकोष र निष्क्रिय कर्जा अनुपातबाट अन्य आधार समेत लिनुपर्ने देखिएमा राष्ट्र बैंकले तोकेको सीमाभन्दा कम हुने गरी लाभांश स्वीकृत गर्न सक्ने जनाएको छ। नयाँ व्यवस्था अनुसार लघुवित्तले नगद लाभांश वितरणको प्रस्ताव गर्नुपरेमा न्यूनतम ९ प्रतिशत पूँजीकोष अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेको छ । 

यसका साथै १५ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा अनुपात भएका लघुवित्तहरुले लाभांश वितरण गर्न पाउने छैनन्।

त्यसैगरी लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ को निर्देशन नं. १/०८१ को बुँदा नं. १२ बमोजिम चुक्ता पुँजी कायम गर्न नसकेको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाको हकमा बोनस शेयर प्रदान गर्न कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण प्रस्ताव गर्न नपाइने व्यवस्था गरिएको छ । 

Advertisment

थप समाचार