काठमाडौं : काठमाडौं ललितपुर र भक्तपुरका विभिन्न स्थानमा आज बिहानैदेखि कर्फ्यु आदेश जारी भएको छ। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ। कर्फ्यु अवधिभरि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउन जस्ता क्रियाकलाप गर्न नपाइने सूचनामा उल्लेख छ।
सामाजिक सञ्जालमा गरिएको प्रतिबन्ध, भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले सोमबार गरेको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर काठमाडौँमा १७ र इटहरीमा २ गरि १९ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्। सरकारी दमनको बिरोधमा हुनसक्ने प्रदर्शनलाई रोक्नको लागि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरको चक्रपथ क्षेत्रभित्र चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गर्नुभएको छ ।
काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाइएकाे छ।
उल्लिखित क्षेत्रमा कर्फ्यु आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वहान, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मीहरू, पर्यटकका सवारी साधन, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको लागि भने आवागमनको लागि सुरक्षाकर्मीबाट सहजीकरण हुने सूचनामा उल्लेख छ।
यसैगरी, भक्तपुरका पनि विभिन्न स्थानमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
जडिबुटी-राधेराधे-बालकोट-निकोसेरा, पेप्सीकोला क्षेत्र
(जडिबुटीदेखि अरनिको राजमार्ग साँगासम्म ९२०० मिटर वरपर०, पेप्सीकोला मनोहरा पुलदेखि निकोसेरा चोकसम्म,
कौशल्टारदेखि बालकोटचोक हुदै रोजभिलेजदेखि चारदोबाटो चोकसम्म
राधेराधे चोकदेखि निकोसेरा चोकसम्म
बाखाबजार, नेपाल कोरियन मैत्री नगरअस्पताल हुदै चारदोबाटो चोकसम्म
सल्लाघारी नगरकोट सडक, कमलविनायक, खरिपाटी हुँदै नगरकोट क्षेत्रसम्म
च्यामासिंह, ताथली हुँदै नालासम्म ९काभ्रेजिल्लाको सीमानासम्म०
दुवाकोट मोडदेखि नेपाल इन्जिनियरिङ्ग कलेज क्षेत्र
देकोचादेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म
त्यस्तै, मंगलबार बिहान ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सूचना जारी गर्दै आज बिहान सात बजेदेखि राति १२ बजेसम्मको लागि चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गर्नुभएको हो ।
सूचना अनुसार ललितपुर महानगरपालिकाको वडा नम्बर २, ४, ५, १५ र २४ भित्रका क्षेत्रमा कर्फ्यु लगाइएको छ। यी क्षेत्रमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कफ्र्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ।
त्यसैगरि ललितपुर महानगरको वडा नम्बर ४, ५, १५ र २४ को भैँसेपाटी क्षेत्र, वडा नम्बर २ सानोपास्थित इन्द्रायणी मार्ग आसपास क्षेत्र, वडा नम्बर १ को च्यासल क्षेत्रमा कर्फ्यु आदेश लागू हुने प्रमुख जिल्ला अधिकारी घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।