काठमाडौं : अर्थ मन्त्रालयले पुँजी बजारमा देखिएको विसंगति र समस्याको अध्ययन गरी आम लगानीकर्ताको मनोबल वृद्धि गर्ने उद्देश्यले कार्यदल गठन गरेको छ।
अर्थमन्त्री रामेश्वर खनालले शुक्रबार नेपाल धितोपत्र बोर्डको कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा चार सदस्य रहेको कार्यदल गठन गरेका हुन् ।
अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा मार्फत गठन गरिएको कार्यदलले बजारमा देखिएका प्रणालीगत र प्रक्रियागत चुनौतीहरूको विश्लेषण गरी पाँच दिनभित्र ठोस कार्यान्वयन योजना पेश गर्नुपर्ने छ ।
कार्यदलको सदस्यमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका कार्यकारी निर्देशक निरन्जन फूयाँल रहेका छन्। कार्यदलको सदस्य सचिवको रूपमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन् ।
जेनजी आन्दोलनपछि बिहीबार खुलेको शेयर बजार १६० अंकले घटेर दुईपटकसम्म नकारात्मक लागेर कारोबार नै बन्द भएको थियो । नेप्से परिसूचकमा भारी गिरावट आएपछि पूँजी बजारमा देखिएका समस्या समाधान गर्न अर्थमन्त्री खनालले कार्यदल गठन गरेका हुन् । 
Advertisment