काठमाडौं : नेपाल धितोपत्र बोर्डले सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औषत गणाना विधि स्थगित गरेको छ । शनिबार बसेको बोर्ड बैठकले उक्त विधि स्थगित गर्ने निर्णय गरेको थियो ।
नेप्सेले आज (आईतबार) परिवर्तीत व्यवस्थाको प्राविधिक परीक्षण गरी मंगलबारबाट लागू गरिने जनाएको छ ।
नेप्सेले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल धितोपत्र बोर्डको मिति २०८२/०६/०४ को पत्रमार्फत धितोपत्र सम्बन्धी ऐन २०६३ दफा ८७ को उपदफा (१) बमोजिम प्राप्त निर्देशन अनुसार धितोपत्र कारोवार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ को विनियम ११ उपविनियम (७) मा उल्लिखित ‘उपविनियम (१) को खण्ड (ख) बमोजिमको सत्रमा २ः४५ बजेदेखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औषत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिनेछ । यस अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिनेछ’ भन्ने व्यवस्थालाई स्थगन गरी अन्तिम कारोबार मूल्यका आधारमा सूचकांक गणना गर्ने व्यवस्था मिलाइएको छ । परिवर्तीत व्यवस्थाको आज मिति २०८२/०६/०५ मा प्राविधिक परीक्षण गरी मिति २०८२/०६/०६ मा सार्वजनिक बिदा परेको हुँदा तत्पश्चातको कारोबार दिनदेखि लागु व्यहोरा अनुरोध छ ।’
पछिल्ला दिनमा सेयर कारोरबामा निरन्तर ओरालो लागिरहेको छ । जेन जी आन्दोलनपछि बिहीबार खुलेको सेयर कारोबारमा तीनपटक नकरात्मक सर्किट लागेको थियो । सेयर कारोबार ओरालो लागेकै कारण लगानीकर्ता र ब्रोकरहरुले १५ मिनेटको औसत मूल्य गणनालाई हटाउनुपर्ने माग गर्दै आएका थिए ।
Advertisment