Below Menu

अस्थिरताको भूमरीमा शेयर बजार : नीतिगत सुधारले पनि रोकिएन उतारचढाव !

अस्थिरताको भूमरीमा शेयर बजार : नीतिगत सुधारले पनि रोकिएन उतारचढाव !

काठमाडौं : गत बिहिबार (असोज २ गते) नेप्से परिसुचकमा लगातार तेस्रो नकारात्मक सर्किट लागेपछि शेयर कारोबार बन्द भयो छ । नेप्से ६ प्रतिशत घटेर तेस्रो सर्किट ब्रेक लागेसँगै कारोबार बन्द भएको थियो ।

Sponsored Advertisement

जेनजी आन्दोलन पश्चात पहिलो दिन खुलेको बजारमा २ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । यसपछि शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो ।

पहिलो सर्किट ब्रेकपछि ११ बजार २२ मिनेटमा खुलेको बजार, १ मिनेटमा नै थप १ प्रतिशत घटेर दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो नकारात्मक सर्किटपछि ४० मिनेटको लागि शेयर कारोबार स्थगित भएको थियो ।

त्यसपछि १२ बजेर ३ मिनेटमा खुलेको बजार १२ बजेर ६ मिनेट जाँदा फेरी  नेप्से १ प्रतिशतले घटेको थियो । जसले गर्दा सो दिनका लागि शेयर कारोबार नै बन्द हुन पुगेको हो । 

बजारमा किन्ने भन्दा बेच्ने लगानीकर्ताको ओइरो लागेको छ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमले लगानीकर्ता अत्तालिएपछि नेप्सेमा पहिरो गएको हो । सो दिन कारोबारमा आएका २१७ कम्पनीको शेयर घटेको छ भने ९ वटा कम्पनीको शेयर मात्रै बढेको थियो । 

पुँजी बजारमा सुधारका लागि कार्यदल गठन 

बिहिबार नेप्से परिसूचकमा देखिएको लगातारको नकारात्मक सर्किटपछि अर्थमन्त्रालयले पनि चासो देखायो । पुँजी बजार सुधारका अर्थ मन्त्रालयले पुँजी बजारमा देखिएको विसंगति र समस्याको अध्ययन गरी आम लगानीकर्ताको मनोबल वृद्धि गर्ने उद्देश्यले कार्यदल गठन नै गठन गर्यो ।

अर्थमन्त्री रामेश्वर खनालले शुक्रबार नेपाल धितोपत्र बोर्डको कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा चार सदस्य रहेको कार्यदल गठन गरेका हुन् ।

अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा मार्फत गठन गरिएको कार्यदलले बजारमा देखिएका प्रणालीगत र प्रक्रियागत चुनौतीहरूको विश्लेषण गरी पाँच दिनभित्र ठोस कार्यान्वयन योजना पेश गर्नुपर्ने छ ।

कार्यदलको सदस्यमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका कार्यकारी निर्देशक निरन्जन फूयाँल रहेका छन्। कार्यदलको सदस्य सचिवको रूपमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन् । 

जेनजी आन्दोलनपछि बिहीबार खुलेको नेप्से परिसूचकमा भारी गिरावट आएपछि पूँजी बजारमा देखिएका समस्या समाधान गर्न अर्थमन्त्री खनालले कार्यदल गठन गरेका हुन् ।

अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हट्यो

नेपाल धितोपत्र बोर्डले शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औषत गणाना विधि स्थगित गरेको छ । शनिबार बसेको बोर्ड बैठकले उक्त विधि स्थगित गर्ने निर्णय गरेको थियो । 

नेप्सेले आज (आईतबार) परिवर्तीत व्यवस्थाको प्राविधिक परीक्षण गरी मंगलबारबाट लागू गरिने जनाएको छ । 

नेप्सेले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल धितोपत्र बोर्डको मिति २०८२/०६/०४ को पत्रमार्फत धितोपत्र सम्बन्धी ऐन २०६३ दफा ८७ को उपदफा (१) बमोजिम प्राप्त निर्देशन अनुसार धितोपत्र कारोवार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ को विनियम ११ उपविनियम (७) मा उल्लिखित ‘उपविनियम (१) को खण्ड (ख) बमोजिमको सत्रमा २:४५ बजेदेखि ३:०० बजेसम्म कायम मूल्यको भारित औषत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिनेछ । यस अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिनेछ’ भन्ने व्यवस्थालाई स्थगन गरी अन्तिम कारोबार मूल्यका आधारमा सूचकांक गणना गर्ने व्यवस्था मिलाइएको छ । परिवर्तीत व्यवस्थाको आज मिति २०८२/०६/०५ मा प्राविधिक परीक्षण गरी मिति २०८२/०६/०६ मा सार्वजनिक बिदा परेको हुँदा तत्पश्चातको कारोबार दिनदेखि लागु व्यहोरा अनुरोध छ ।’

अर्थमन्त्री रामेश्वर खनालले नेपाल धितोपत्र बोर्ड (सेबान)लाई नेप्से सूचकाङ्क गणनाका लागि लागू गरिएको १५ मिनेटको समय हटाउन निर्देशन दिएका थिए । 

मन्त्री खनालको निर्देशनपछि सेबोनले शनिबार नै सञ्चालक समितिको बैठक राखेर ६ महिनाअघि लागू गरिएको उक्त निर्णय उल्टाएको हो । 

पछिल्ला दिनमा शेयर कारोरबामा निरन्तर ओरालो लागिरहेको छ । जेन जी आन्दोलनपछि खुलेको शेयर कारोबारमा तीनपटक नकरात्मक सर्किट लागेको थियो । शेयर कारोबार ओरालो लागेकै कारण लगानीकर्ता र ब्रोकरहरुले १५  मिनेटको औसत मूल्य गणनालाई हटाउनुपर्ने माग गर्दै आएका थिए ।

धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा ६ महिनाका अघि चौथो संशोधन गरेर १५ मिनेटको औसत मूल्य गणनाको व्यवस्था गरिएको थियो । केही लगानीकर्ता र ब्रोकरहरूले उक्त संशोधनको विरोध गर्दै आएका थिए ।

मन्त्री खनालको निर्देशनपछि नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले १५ मिनेट अवधि तोकेर क्लोजिङ प्राइसमा भारित औसतबाट मूल्य तय हुने व्यवस्था हटाउने प्रस्ताव सेबोनमा पठाएका थिए । नेप्सेको सञ्चालक समितिले संशोधन प्रस्ताव पारित गरेर सेबोन पठाएपछि सेबोनले बैठक राखेको हो ।

सेबोन र नेप्सेका अधिकारीसहित केही लगानीकर्ताको मागअनुसार खराब वित्तीय अवस्था भएका लोक्याप कम्पनीको शेयर मूल्य घट्ने तर अन्तिम समयमा अस्वभाविक माग सिर्जना गर्ने प्रवृत्ति देखिएपछि १५ मिनेटको कारोबारलाई औसत गणना गरेर अन्तिम मूल्य कायम गर्ने व्यवस्था गरिएको थियो ।

छ महिनाअघिदेखि लागू भएको यो व्यवस्थाअनुसार २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्म कायम कम्पनीको मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने व्यवस्था लागू गरेको थियो । २०८१ चैत ७ गतेदेखि कार्यान्वयनमा आएको थियो ।

नेप्से सूचकांक गणनाको विधि हटाउन माग गर्दै केही लगानीकर्ताले सेबोन घेराउ गर्न पुगेका थिए । उनीहरूको माग जसरी पनि १५ मिनेटको उक्त व्यवस्था हटाउनुपर्ने भन्ने थियो । अर्थमन्त्री खनालले निर्देशन दिइसकेका कारण लगानीकर्ताले थप दबाब बढाएका थिए । 

प्रिओपन सेसनमा नेप्से २४.३५ अंकले घट्यो

साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २४ अंक घटेर बन्द भयो । बिहीबार १६०.३३ अंक घटेर २५११.९१ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा २४.३५ अंक घटेर २४८७.५६ विन्दुमा झर्यो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.२७ अंक घटेको थियो । 

आइतबार प्रि ओपन सेसनमा १७३ स्टकको ८४५ पटकको कारोबारमा ५ करोड ४८ लाख १३ हजार ५५४ रुपैयाँ ८० पैसाबराबरको एक लाख १८ हजार ५३७ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने ११७ स्टकको मूल्य घटेको छ ।

नीतिगत सुधारले पनि रोकिएन उतारचढाव

आइतबारको कारोबारमा प्रि ओपन सेसनमा दोहोरो अंकले घटेको शेयर बजारमा पुनः उच्च अंकले बढ्यो । शेयर बजारबढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । बिहीबार इतिहासकै सबैभन्दा धेरै अंक घट्दै नकारात्मक सर्किट लागेर समय अगावै बन्द भएको बजार आइतबार भने तीव्र गतिमा घटबढ भएको हो । 

प्रि ओपनिङ सेसनमा २४ अंकले घटेको परिसूचक कारोबार खुलेको १० मिनेटमै ५९ अंंकको वृद्धि हासिल गर्दै २५७१.०६ अंकमा पुग्यो । तर यो वृद्धि टिकेन, त्यसपछिको ५ मिनेटमा बजार पुन घट्दै सुरुकै विन्दुमा आइपुग्यो । ११ः १५ बजे बजार २५१४.६९ अंकमा कायम भएको थियो । 

तर, त्यसयता भने बजारले लय समातेको छ । आइतबार बजार अन्तिम १११.७० अंकले बढेर २६२३.६२ बिन्दुमा बन्द भयो । राजनीतिक अस्थिरता र बेमौसमी लगानीकर्ताका कारण बजारमा तीव्र उतारचढाव देखिएको हो । 

पछिल्लो समय पुँजी बजारप्रति नेपाल राष्ट्र बैंक पनि लचक बन्दै गएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा संस्थागत लगानीकर्तालाई शेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ । यसका साथै, जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेपछि शेयर धितो कर्जा पनि उल्लेख्य रूपमा बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार हाल बजारमा एक खर्ब ४५ अर्ब रुपैयाँ ऋण गएको छ ।

नीतिगत सुधार भएपनि ट्रेडरहरू हाबी हुँदा र नाफा बुक गर्न खोज्दा बजारमा तीव्र उचारचढाव आएको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । उनले भने, ‘अहिलेको बजारमा ट्रेडरहरू हाबी हुँदा दीर्घकालीन लगानीकर्ताहरू मारमा परेका छन् । शेयर बजारमा सन्तुलन कायम गर्न नियामक निकायहरूले ध्यान दिन जरुरी छ ।’ 

अर्थविद् डा. चन्द्रमणि अधिकारीका अनुसार लगानीकर्तामा अर्थतन्त्र ओरालो लाग्दा पनि शेयर बजार सधैं उकालो लाग्छ भन्ने भ्रम छ । अर्थतन्त्र र शेयर बजारको दिशा एउटै हुनुपर्छ । 

यद्यपि, अन्य क्षेत्रमा लगानीका अवसर कम हुँदा धेरै पैसा भएका लगानीकर्ताहरूले शेयर बजारमा लगानी गर्दा छोटो अवधिमा उतारचढाव आएको उनको भनाइ छ ।

 

Sponsored Advertisment

थप समाचार