काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ११ कम्पनीहरुले गत आर्थिक वर्ष मुनाफाबाट शेयधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् ।
हालसम्म तीन वाणिज्य बैंकसहित विभिन्न क्षेत्रका उक्त सूचीकृत कम्पनीहरुले न्युनतम् ६ प्रतिशतदेखि अधिकतम् २० प्रतिशतसम्म लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।
यस अवधिसम्ममा तीन वाणिज्य बैंक, दुई विकास बैंक, तीन वटा हाइड्रोपावर, एक वटा इन्भेष्टमेन्ट कम्पनी र नेपाल ल्यूव आयलले हालसम्म लाभांश घोषणा गरेका छन् । कतिपय कम्पनीहरुले प्रस्तावित लाभांश पारित गर्न वार्षिक साधारण सभा र बुक क्लोजको मिति समेत बोलाइसकेका छन् ।
लाभांश घोषणा गरेका मध्ये सबैभन्दा बढी लाभांश घोषणा गर्ने कम्पनीमा नेपाल ल्यूव आयल लिमिटेड रहेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद गरी कुल २०.०५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
त्यसैगरी एभरेष्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजकना लागि १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ ।
त्यसैगरी माछापुच्छ्रे बैंकले चार प्रतिशत बोनस र चार प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ भने सानिमा बैंकले ७.३६८५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
त्यसैगरी विकास बैंकतर्फ मुक्तिनाथ विकास बैंकले १३.५३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद गरी १८.२० प्रतिशत र कामना सेवा विकास बैंकले १० प्रतिशत बोनस र ५.७९ प्रतिशत नगद गरी १५.७९ प्रतिशत लाभांश घोषणा गरेका छन् भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ६.३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
हाइड्रोपावरतर्फ सिक्लेस र मिडसोलु हाइड्रोपावरले क्रमश १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
नेप्सेमा सूचीकृत हाथवे इन्भेष्टमेन्ट नेपालले १२ प्रतिशत बोनस शेयर र ०.६३२ प्रतिशत नगद गरी कुल १२.६३२ प्रतिशत र अरुण भ्याली हाइड्रोपावरले ८ प्रतिशत बोनस र ०.४२१ प्रतिशत नगद गरी कुल ८.४२१ लाभांश घोषणा गरेका छन् ।
Advertisment