काठमाडौं : दक्षता र क्षमताले धेरैथोक प्राप्त हुन्छ । त्यसमा अझै इमान्दारी र निरन्तरता भयो भने के प्राप्त हुँदैन र ?
आरती श्रेष्ठ पनि यसको बिम्ब हुन् । जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्थामा साढे १५ वर्ष अघि उनले वरिष्ठ सहायकका रुपमा सेवा सुरु गरेकी थिइन् ।
त्यस दौरान उनले आफूलाई सहकारीको जागिरे मात्रै ठानिन्, आफ्नो दक्षता र क्षमताको आयतन कामबाटै विस्तार गरिन् । सेवाकालमा उनले सदस्य सेवा विस्तार, प्रशासनिक व्यवस्थापनमा सुधार मात्रै गरिनन् सँस्थाको प्रतिष्ठा र सेवा विस्तारका लागि नयाँ प्रविधि समेत भित्र्याएर योगदान पुर्याइन् ।
त्यही समर्पण, अनुभव र निरन्तर योगदानको उच्च मूल्याङ्कन गर्दै सञ्चालक समितिले श्रेष्ठलाई डेपुटी सीईओमा बढुवा गर्ने निर्णय गरेको छ। स्थापनाकालदेखि नै संस्थामा आवद्ध श्रेष्ठले डेपुटी सीईओको जिम्मेवारी सम्हाल्ने क्रममा संस्थालाई अझ आधुनिक, पारदर्शी र सदस्यमैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेकी छन्।
व्यवस्थापन विषयमा स्नातकोत्तर गरेकी श्रेष्ठ मृदुभाषी, सदस्यमैत्री छिन् । सञ्चारकर्मको समेत अनुभव भएकी उनी सहकारी यात्रा थाल्नुभन्दा पहिला रूपन्देही एफएकमा काम गर्थिन् ।
सञ्चारक्षेत्रको अनुभवलाई उनले सहकारी क्षेत्रमा भरपूर उपयोग गरेकी छन् । सदस्यहरूसँग मित्रभावपूर्ण निकटता, विश्वास र पारदर्शिता कायम राख्नसक्नु उनको विशेषता नै हो ।
Advertisment