Below Menu
Below Menu

प्रशंसा संरक्षण समूहको २७औँ साधारण सभाबाट नयाँ समिति चयन, अध्यक्षमा हरि प्रसाद अवस्थी

प्रशंसा संरक्षण समूहको २७औँ साधारण सभाबाट नयाँ समिति चयन, अध्यक्षमा हरि प्रसाद अवस्थी

काठमाडौं : ‘सेवा नै धर्म हो, एकता नै बल हो’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गरी स्थापना भएको सामाजिक संस्था प्रशंसा समूहको अध्यक्षमा हरि प्रसाद अवस्थी निर्वाचित भएका छन् ।

हिजो सोमबार काठमाडौंमा सम्पन्न २७औँ साधारण सभाले अवस्थीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा मोहनसिंह एतवाल, महासचिवमा श्याम ओझा, सचिवमा डम्बर कुमारी रेग्मी र कोषाध्यक्षमा कमला भट्ट पोखरेल निर्वाचित भएका छन् । सदस्यहरूमा डा. लक्ष्मीराज पाठक, हरिमोहन भण्डारी, रमेश भट्ट, ज्वाला बिष्ट र भुवनेश्वरी भण्डारी निर्वाचित भएका छन् । कार्यसमितिमा निवर्तमान अध्यक्ष दोस्रो बरियतामा रहने निर्वाचन समितिका सदस्य उद्धव बोगटीले जानकारी दिए ।

उनका अनुसार नयाँ कार्यसमिति निर्वाचित गर्न नेत्रबहादुर शाही संयोजक रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । सो समितिको सदस्यमा इन्दु भट्ट र उद्धव बोगटी थिए । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

त्यसअघि साधारण सभामा अध्यक्ष हरिप्रसाद अवस्थीले प्रशंसा समूहको प्रगती विवरण र कोषाध्यक्ष बिशेश्वरी उप्रेतीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका संस्थापक अध्यक्ष अम्बादत्त भट्टले नव प्रवेशी सदस्यहरू टीकाराम भट्ट, नेत्रबहादुर शाही, तिलक भट्ट, चन्द्रकान्त पण्डित, इन्दु भट्ट, ललिता ठकुल्ला, भागरथी बिष्ट बसन्ती भट्टलगायतलाई संस्थाको परिचय गराउँदै स्वागत गरेका थिए । कम्तीमा दुई वर्ष संस्थाअन्तर्गत गठित समाजमा काम गरेका व्यक्तिहरूलाई मात्र सदस्यता प्रदान गरिने व्यवस्था छ । सो योग्यता पूरा गरेकाहरूलाई समाजले सदस्यका रूपमा स्वीकार गरेको बताइएको छ ।

प्रशंसा अर्थात् प्रकृति, संस्कृति तथा सामाजिकता संरक्षण समूह, पारस्परिक सहयोग, समझदारी, प्रेम र सदभावको माध्यमबाट सुसंस्कृत, इमान्दार, चरित्रवानसहितको समृद्ध समाज स्थापना गर्ने उद्देश्य बोकेर वि.स. २०५५ सालमा सामाजिक संस्था ‘प्रशंसा समूह’ गठन गरिएको थियो ।

प्रशंसा संरक्षण समूह गैरसरकारी संस्था हो । सांस्कृतिक उत्थान, प्रकृतिको संरक्षण र सामाजिक मूल्य मान्यताको प्रवर्द्धन गर्दै समुन्नत समाज बनाउने संस्थाको अभियानलाई आत्मसाथ गरी अगाडि बढेको यो संस्था सुदूरपश्चिमको सरोकारका विभिन्न कुराहरूको उठान गर्ने गर्दछ र त्यस भेकको सांस्कृतिक उत्थानमा अग्रसर रहँदै आएको छ ।

काठमाडौंको खुलामञ्चमा गौरा पर्वको आयोजना गरी सबै संस्कृति समुदायलाई सार्वजनिक रूपमा आफ्नो चाडपर्व मनाउन प्ररित गर्ने संस्था प्रशंसा संरक्षण समूह हो ।

Advertisment