काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखिकरण मापदण्ड २०८२ जारी गरेको छ । शुक्रबार एक कार्यक्रमको बीच प्राधिकरणका अध्यक्ष डा। खगराज शर्माले मापदण्ड जारी गरेका हुन् ।
प्राधिकरणले सहकारी दर्ताका लागि छुट्टै अभिलेखीकरण फफ्टवेयर निर्माण अन्तिम चरणमा पुगेको जानकारी गराउँदै असोज महिनाभित्र दर्ता प्रकृया थालनी गरिने अध्यक्ष शर्माले बताए ।
सफ्टवेर लञ्च भएको सूचना जारी गर्ने र सूचना जारी भएको ६० दिन भित्र सबै सहकारी दर्ता हुनुपर्ने मापदण्डमा उल्लेख छ । अनलाईनबाटै दर्ता गर्ने र ईजाजत पत्र पनि अनलाईनबाटै प्राप्त गर्न सकिने सिष्टम प्राधिकरणले विकास गरिरहेको उनले बताए । प्राधिकरणबाट इजाजत नलिएका सहकारीले बचत तथा ऋणको कारोबार गर्न नपाउने समेत उनले स्पष्ट पारे ।
प्राधिकरणमा दर्ता हुन एक हजारदेखि १५ हजारसम्मको शुल्क निर्धारण गरिएको छ । कुल सम्पत्ति वा कुल पुँजी तथा दायित्व २ करोडसम्मका सहकारीलाई एक हजार, २ देखि १० करोड सम्मका सहकारीलाई ३ हजार, १० देखि २५ करोड सम्मका सहकारीलाई ५ हजार, २५ करोड देखि ५० करोड सम्मका सहकारीलाई ७ हजार, ५० करोडदेखि १ अर्बसम्मका सहकारीलाई १० हजार र १ अर्बभन्दा बढीका सहकारीलाई १५ हजार शुल्क तोकिएको छ।
Sponsored Advertisment