काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २२.५९ अंकले बढेर २५८२.१८ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ४५.३६ अंकले घटेर २५५९.५९ बिन्दुमा बन्द भएको थियो ।
राष्ट्र बैंकले बुधबार मार्जिन प्रकृतिको कर्जाको सीमा खारेज गरेसँगै बजारमा उत्साह देखिएको हो। लगानीकर्ताहरुले लामो समयदेखि शेयर धितो कर्जाको सीमा खारेज गर्न माग गरिरहेका थिए ।
लगानीकर्ताका मागलाई सम्बोधन गर्न केन्द्रिय बैंकले एक सर्कुलर जारी गर्दै शेयर धितो कर्जाको सीमा खारेज गरेको हो । यससँगै लगानीकर्ताहरुले बैंकबाट अब जति रकम कर्जा लिन पाउनेछन् ।
आज कारोबारमा आएका २०० कम्पनीको शेयरमूल्य बढेको छ । भने ४१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै दश कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा पाँच अर्ब २७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा पाँच अर्ब ७६ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज शिवम् सिमेन्ट्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा बिन्ध्यावासिनी हाइड्रोपावर डेभपमेन्ट कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ८.२१ प्रतिशतले बढेको हो । आज थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.०९ प्रतिशतले घटेको छ ।
Advertisment