Below Menu
Below Menu

देशभरका बचत संघ एकजुट, वित्तीय कारोबार गर्न पाउनु पर्ने मागसहित प्राधिकरणमा संयुक्त ज्ञापन

देशभरका बचत संघ एकजुट, वित्तीय कारोबार गर्न पाउनु पर्ने मागसहित प्राधिकरणमा संयुक्त ज्ञापन

काठमाडौं : देशभरका जिल्ला बचत तथा ऋण सहकारी संघ र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) ले बचत तथा ऋणको कारोबार गर्न पाउनुपर्ने माग राखेको छ।

संघहरुले सहकारी ऐन २०७४ बमोजिम गर्दै आएको बचत तथा ऋणको कारोबार गर्न पाउनुपर्ने मागसहित मकवानपुर, हेटौडामा भएको संयुक्त बैठकले तयार गरेको विज्ञप्ती राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा.खगराज शर्मालाई बुझाइएकोे छ।

विज्ञप्ती बुझ्दै प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले सहकारी अभियानमा संघहरुको भूमिका आवश्यक रहेको बताए। संघको सहयोग विना राष्ट्रिय सहकारी नियमन प्राधिकरणले मात्र सहकारी संस्थालाई नियमन गर्न प्रयाप्त नहुने बताए।

बचत तथा ऋण सहकारी संस्था संख्यामा धेरै भएको र दर्ता मापदण्डका सूचांक पनि प्रारम्भिक संस्थाका आधारमा तयार गरेका कारण पहिलो चरणमा प्रारम्भिक संस्थालाई दर्ता अभिलेखिकरण गर्ने र दोस्रो चरणमा संघ नियमनका मापदण्ड बनाई दर्ता अभिलेखिकरण गर्ने बताए।

साथै सहकारी ऐनले संघलाई दिएको अधिकार र अभियान कुण्ठित हुने कार्य प्राधिकरणले गर्न नखोजेको बताउँदै संघलाई सिमित कारोबार गर्न सक्ने गरी मापदण्ड जारी हुनेबारे छलफल भइरहेको कुरा बताए।

विज्ञप्ती बुझाउँदै बागमती प्रोस्कूनका बरिष्ठ उपाध्यक्ष जिबस राज खड्काले ऐनमा भएका व्यवस्थालाई कुण्ठित हुने गरी संघमा रहेको रकमलाई तरलतामा गणना नगर्ने जारी भएको निर्देशन प्रति विरोध गरेका थिए। बागमती प्रोस्कूनका महासचिव गोविन्द काफ्ले सहकारी संघहरुलाई पनि दर्ता अभिलेखिकरणमा समावेश गर्नुपर्ने बताए।

काठमाण्डौं जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दिपक पनेरुले सहकारी अभियानलाई कमजोर बनाउने गरी जारी भएको निर्देशन संशोधनको माग गरे ।

त्यस्तै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीका वेथितीको रोकथाम र गलत गर्नेलाई कार्वाहीको लागि सहकारी अभियानले राष्ट्रिय नियमन प्राधिकरणको आवयकता महसुस गरेको भन्दै संघले सहकारी ऐन अनुसार कारोबार गर्न पाउनुपर्ने विचार राखेका थिए।

काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उदयराम कायष्ठले निर्देशनमा संघलाई कमजोर बनाउने बुँदाहरुको संशोधनको माग गर्दै थप विरोध गर्न नपर्ने गरी संशोधनको माग गरे।

बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशव दाहालले जारी नियमकीय मापदण्ड धेरै कुरा सकारात्मक रहेकोमा सोको विरोध नभई संघले कारोबार गर्न पाउने ऐनले सुनिश्चितता गर्दा गदै पनि सो अधिकारबाट बञ्चीत हुने गरी संघमा रहेको प्रारम्भिक संस्थाहरुको रकमलाई तरलतामा गणना नगर्नु प्रति विरोध रहेको स्पष्ट पारेका थिए।

सो कार्यक्रममा बागमती प्रोस्कून, काठमाडौं ललितपुर, भक्तपुर, काभ्रे, दोलखा लगायतका बचत तथा ऋण सहकारी संघका पदाधिकारी, संचालक र प्रमुख कार्यकारी अधिकृत/व्यवस्थापकहरुको उपस्थिति थियो।
 

Advertisment

थप समाचार