Below Menu
Below Menu

पाँच तारा साकोसको १८औं साधारण सभा सम्पन्न, सदस्यको सुख र दु:ख सधैँ साथ रहने प्रतिबद्धता

पाँच तारा साकोसको १८औं साधारण सभा सम्पन्न, सदस्यको सुख र दु:ख सधैँ साथ रहने प्रतिबद्धता

काठमाडौं : पुरानो सिनामंगल स्थित पाँच तारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारण सभा नियामकीय निर्देशनहरुको पालना गर्दै आज (बुधबार) सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष भोला नाथ पाठकको सभापतित्वमा भएको साधारण सभा सदस्यहरुको सभ्य र भव्य सहभागितामा पूर्वनिर्धारित एजेण्डाहरु उपर छलफल गरी छिटो र छरितो तरिकाले सम्पन्न गरेको हो । समयमै वार्षिक लेखापरिक्षण सम्पन्न गरी असोज मसान्त भित्रै वार्षिक साधारण सभा समेत सकेर संस्थागत सबलताको उदाहरण पाँच तारा सहकारीले प्रस्तुत गरेको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष भोला नाथ पाठकले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष अवधेश कुमार पाण्डेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक दिपक रिजालले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत स्वीकृत गरिएको थियो । 

सभामा प्रतिवेदन पेश गर्दै अध्यक्ष पाठकले वि.सं २०६५ सालबाट संस्थाले कार्यारम्भ गरेको र प्रारम्भिक साधारण सभादेखि हरेक वार्षिक साधारण सभा निर्देशित समय भित्रै गर्दै आएको बताए । संस्थाका निर्णय कार्यान्वयन, प्रशासनिक गतिविधि र तथ्यांकगत सूचकहरुको संग्रह वार्षिक प्रतिवेदन प्रारम्भिक साधारणसभादेखि नै मुद्रित रुपमा सभा समक्ष निरन्तर प्रस्तुत गर्दै आइरहेको समेत बताए । क्रियाशिल सदस्यहरु संस्थाको निरन्तर सामिप्यतामा रहिरहने भएता पनि व्यवस्थापन र सदस्य माझ विगतको समिक्षा साथै संस्थाको आगामी कार्यदिशाका सम्बन्धमा सामुहिक रुपमा छलफल गर्ने र संचालक समितिलाई निर्देश गर्ने स्थायी संरचना साधारण सभा रहेको उनले बताए ।

संस्थाले प्रदान गर्ने दैनिक सदस्य सेवालाई चुस्त दुरुस्त र साधारण सभाले दिएका अख्तियारी, जिम्मेवारी र निर्णयहरुको समुचित कार्यान्वयन गर्ने कामलाई समितिले विगत वर्षहरु झै प्राथमिकताका साथ पालना गरेको अध्यक्ष पाठकले बताए । निर्णय कार्यान्वयनका सन्दर्भमा आ.व. २०८१/८२ को अवधिमा संचालक समितिको १३ पटक नियमित र १५ पटक कार्य सम्पादन सहजिकरण तथा विषयगत निर्णयका लागि संक्षिप्त रुपमा समेत आवश्यकता अनुसार बैठक राखिएको जानकारी सभामा गराए । 

सदस्यहरुको सुविधा र हितलाई ध्यान दिई विगतमा घोषणा गरिएका प्रस्तावहरुलाई क्रमशः कार्यान्वयन र व्यवस्थित गर्दै लगिने समेत प्रतिवद्धता अध्यक्ष पाठकले जनाए । संस्थाले बचतमा सकभर स्थिर व्याजदर र ऋणमा निरन्तर व्याजको दर घटाउँदै जाने नीतिलाई स्थापनाकालदेखि नै कार्यान्वयन गर्दै आएको उनले बताए ।

संस्थाले सदस्यहरुले पेन्सन सुविधा, जेष्ठ सदस्य चाडवाड खर्च, औषधोपचार सुविधा, सांस्कृतिक चाडवाडहरुलाई शसक्तिकरण सहितको प्रवर्धन, ऋणमा ब्याज छुट, बचतमा उत्कृष्ट व्याज प्रदान गर्ने, पाँच तारा समृद्धि बचत खातामा सहभागिहरुलाई युनिफर्म प्रदान, एटिएम सुविधा, नेतृत्व विकासका लागि महिला, युवा र जेष्ठ उपसमितिहरुको गठन र कृयाशिलताका लागि जिम्वेवारी प्रदान गर्ने लगायत विभिन्न सदस्य सुविधाका कार्यक्रमहरुमा समेत जोडिदै लाभको प्रतिशत भन्दा पनि सदस्य सुरक्षाका कार्यक्रमहरुकासाथ सदस्यहरुको समिपमा रहने प्रयास संस्थाले गरेको छ।

पाँच तारा साकोस सबै उमेर समुहका सदस्यको लागि सहकार्य र सम्बन्धको साझा चौतारी बनाउने लक्ष्य र चिन्तनका साथ अगाडि बढिरहेको अध्यक्ष पाठकले बताए । सदस्यको सुख र दु:ख सधैँ साथ रहने समेत प्रतिबद्धता अध्यक्ष पाठकले जनाएका छन् ।

आर्थिक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष पाण्डेले संस्थाको सेयर पुँजी ८ करोड ३३ लाख ९३ हजार ४ सय रुपैयाँ कायम भएको बताए । त्यस्तै चालु आर्थिक वर्षमा ९ करोड २१ लाख सेयर पुँजी पुर्याउने लक्ष्य संस्थाले लिएको बताए । 

त्यस्तै संस्थाको जगेडा कोषमा ६ करोड ६७ लाख, बचत ६४ करोड ५९ लाख, ऋण लगानी ७२ करोड ९४ लाख, स्थिर सम्पत्ति ४ करोड ३० लाख, कुल आम्दानी ८ करोड ७० लाख, खर्च ८ करोड, खुद नाफा ९८ लाख रहेको छ । त्यस्तै ऋण नोक्सानी कोषमा ३ करोड ५० लाख रहेको छ । संस्थामा २ हजार ९७ जना आवद्ध छन् ।

Advertisment

थप समाचार