Below Menu
Below Menu

आज ७७औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस: समृद्ध विश्व निर्माणका लागि सहकार्य

आज ७७औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस: समृद्ध विश्व निर्माणका लागि सहकार्य

काठमाडौं : आज ७७ औं अन्तर्राष्ट्रिय बचत तथा ऋण सहकारी दिवस ( अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे) विश्वभर विविध कार्यक्रम गरी विश्वभर मनाइँदैछ ।

विश्वभरका बचत तथा ऋण सहकारी (क्रेडिट युनियन) अभियानले प्रत्येक अक्टोबरको तेस्रो बिहीबार विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आएको छ । अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे (आइसीयू डे) को यस वर्षको नारा ‘समृद्ध विश्व निर्माणका लागि सहकार्य’ (Cooperation for a Prosperous World) रहेको छ ।

विश्वभरका बचत तथा ऋण सहकारी संघ संस्थाले विभिन्न प्रतियोगिता, जनचेतनामूलक कार्यक्रम, सामाजिक क्रियाकलापहरु, शिक्षाप्रद कार्यक्रम, स्वयंमसेवी क्रियाकलापहरु संचालन गरी यो दिवन मनाउने गर्दछन् ।

वर्ल्ड काउन्सिल अफ क्रेडिट यूनियन्स (WOCCU) र वर्ल्डवाइड फाउन्डेसन फर क्रेडिट यूनियन्स (WFCU), एशियाली ऋण महासंघ (अकू), नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) लगायत विभिन्न मुलुकका वित्तीय सहकारीका शीर्ष संघहरुसँगै प्रारम्भिक संस्थाहरुले विविध कार्यक्रम गरी आइसीयू डे मनाउँदैछन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)ले आइसीयू डेको अवसरमा आज छुट्टै कुनै पनि कार्यक्रम राखेको छैन । नेफ्स्कूनले देशभरका सदस्यहरुको नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत स्थलगत सुपरिवेक्षण गरिरहेको छ । ७ सय सहकारीको स्थलगत सुपरिवेक्षण गर्ने लक्ष्यका साथ नेफ्स्कून अघि बढेको छ । स्थलगत सुपरिवेक्षण देशभर चलिरहेको र यस पटकको आइसीयू डेका कार्यक्रम समेत त्यसैमा जोडिएको महासचिव घनश्याम अधिकारीले बताए। सोही कार्यक्रममार्फत शुभकामना आदनप्रदान, बचत तथा ऋण सहकारी अभियानको योगदान, आगामी कार्यदिशा लगायतको विषयमा चर्चा गरिएको उनले बताए ।

सन् १९२७ जनवरी १७ मा अमेरिकाको म्यासाचुसेट्सको क्रेडिट युनियन लिगले सदस्यहरु र कामदारहरुको लागि बचत प्रेरक Benjamin Franklin को जन्मदिनको अवसर पारेर पहिलो अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस मनाएको थियो । तर, त्यसले निरन्तरता पाउन सकेन।

त्यसपछि सन् १९४८ को अक्टोबर तेस्रो विहिबारका दिन “अबको समय बचत तथा ऋण सहकारीहरू मार्फत राम्रो संसार निर्माण गर्ने हो” भन्ने थिमका साथ अमेरिकाको Credit Union National Association- CUNA (हाल Americas Credit Unions) र CUNA Mutual Insurance ले क्रेडिट युनियन दिवस मनाउने निर्णय गरे । ततपश्चात अमेरिकी साकोस अभियन्ताहरुले यसको इतिहास र उपलब्धिहरु प्रतिविम्बित गर्न तथा साकोसमैत्री वातावरण निर्माण तथा प्रवर्धनका लागि मानिसहरुलाई एकसाथ जोड्नु पर्छ भन्ने आवश्यकता रहेको रहेको महसूस गरे । त्यसले गर्दा क्रेडिट युनियनहरुलाई कुनै कुनै रुपमा दिवस मनाउन प्रेरित गर्यो ।

सन् १९५० मा CUNA को World Extension Department ले विश्वभरका साकोसको विकासको लागि प्राविधिक सहयोग र सैद्धान्तिक मार्गनिर्देशन प्रदान गर्यो । सन् १९६४ सम्म CUNA International को सहयोगमा धेरै देशहरुमा क्रेडिट युनियनहरु स्थापना भए । यसरी हरेक वर्ष अक्टोबरको तेस्रो विहीबारलाई अन्तराष्ट्रिय क्रेडिट युनियन दिवसको रुपमा मनाउन थालियो ।

आइसीयू डेले विश्वव्यापी क्रेडिट यूनियन आन्दोलनको भावना र एकतालाई उत्सवको रूपमा मनाइन्छ। यो दिन क्रेडिट यूनियन आन्दोलनको इतिहासमाथि पुनर्विचार गर्न, यसको उपलब्धिहरूलाई प्रवर्द्धन गर्न, लगनशील परिश्रमको कदर गर्न र सदस्यहरूको अनुभव बाँड्नका लागि मनाइन्छ।

यस दिवस मनाउने मुख्य उद्देश्य क्रेडिट यूनियन र अन्य वित्तीय सहकारी संस्थाहरूले विश्वभर गरिरहेको उत्कृष्ट कार्यबारे जनचेतना फैलाउनु र सदस्यहरूलाई अझ बढी संलग्न गराउनु हो। विश्वभरका क्रेडिट यूनियन र वित्तीय सहकारी संस्थाहरूले यस अवसरमा कोष संकलन, खुला घर (ओपन हाउस), प्रतियोगिता, पिकनिक, स्वयंसेवा र झाँकी (परेड) जस्ता विभिन्न कार्यक्रमहरू आयोजना गर्छन्।

क्रेडिट युनियनहरू लाभभन्दा सेवा प्राथमिकता दिने (not-for-profit) वित्तीय सहकारी संस्था हुन् जसले विश्वका १०४ देशमा ४११ मिलियनभन्दा बढी सदस्यहरूलाई नाफामुखी वित्तीय संस्थाहरूको प्रभावकारी विकल्प प्रदान गर्दै आएका छन्। विश्वभर ७४,००० भन्दा बढी क्रेडिट युनियनहरू रहेका छन्, जसले आफ्ना सदस्यहरूलाई विविध वित्तीय सेवा प्रदान गर्दै आर्थिक तथा सामाजिक सकारात्मक परिवर्तनका शक्तिशाली वाहकको रूपमा काम गरिरहेका छन्।

Advertisment

थप समाचार