Below Menu
Below Menu

पुनर्बीमाको रकम अड्किँदा बीमकलाई राहत दिन चुनौतीः २३ अर्बको दाबीमा नौ प्रतिशत मात्र भुक्तानी 

पुनर्बीमाको रकम अड्किँदा बीमकलाई राहत दिन चुनौतीः २३ अर्बको दाबीमा नौ प्रतिशत मात्र भुक्तानी 

काठमाडौं : जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बीमा दाबीमध्ये हालसम्म बीमा कम्पनीहरूले करिब दुई अर्ब रुपैयाँ मात्र भुक्तानी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार असोज २८ गतेसम्म देशभरका १४ निर्जीवन र ४ लघु बीमा कम्पनीमा ३ हजार १६३ वटा दाबी दर्ता भएका छन् । जसको कुल मूल्य २३ अर्ब १९ करोड रुपैयाँ छ । तर, सो मध्ये ८.४२ प्रतिशत अर्थात् १ अर्ब ९५ करोड रुपैयाँ मात्र अग्रिम वा अन्तिम भुक्तानी भएको छ ।

सरकारले पीडित व्यवसायीलाई राहतस्वरूप ५० प्रतिशत अग्रिम भुक्तानीको व्यवस्था गरे पनि पुनर्बीमा कम्पनीबाट रकम नआएकाले अधिकांश बीमकहरूले भुक्तानीमा ढिलाइ गरेका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सबैभन्दा बढी ५ अर्ब ४८ करोडको दाबी परेको र त्यसमा ७८ करोड भुक्तानी भएको छ भने दि ओरिएण्टल इन्स्योरेन्सले ५ अर्ब ५४ करोड दाबीमध्ये जम्मा ७१ लाख रुपैयाँ मात्र दिएको छ ।

कुल दाबी रकम पनि पछिल्ला हप्तामा घटेको छ । असोज ९ मा २३ अर्ब ३९ करोडबाट असोज २८ सम्ममा २३ अर्ब १९ करोडमा घटेको ।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई पेश्कीबापत १ अर्ब ७५ करोड रुपैयाँ उपलब्ध गराएको छ । विज्ञहरूका अनुसार यो घटना नेपालकै इतिहासको सबैभन्दा ठूलो “मास क्लेम” हो र यसले बीमा कम्पनीहरूको भुक्तानी क्षमतामा चुनौती र क्षेत्रको पुनर्संरचना आवश्यकतासमेत देखाएको छ ।
 

Advertisment

थप समाचार