Below Menu
Below Menu

किसान सहकारीको ३१ वर्षे यात्रा : दरिलो उपस्थिति, लोकप्रियता र छुट्टै पहिचान

किसान सहकारीको ३१ वर्षे यात्रा : दरिलो उपस्थिति, लोकप्रियता र छुट्टै पहिचान

काठमाडौं : लम्कीचुहा नगरपालिका-१, लम्की, कैलालीमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापनाको ३१औं वर्षमा प्रवेश गरेको छ।

२०५२ साल कार्तिक १७ गते कैलाली जिल्लाको प्रवेशद्वार लम्कीमा मुख्य कार्यालय रहने गरी २५ जना शेयर सदस्यहरुबाट ६० हजार तीन सय शेयर पुँजी संकलन गरी संस्थाको स्थापना भएको थियो।

स्थापनाको ३० वर्ष पुरा गर्दा संस्थामा ९१ हजार ७ सय २३ सदस्य जोडिएका छन् । संस्थाको सेयर पुँजी ५१ करोड ३५ लाख, जगेडा कोष ३५ करोड ७२ लाख, बचत ४ अर्ब ८१ करोड ६६ लाख, लगानी ५ अर्ब र कुल सम्पत्ति ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।

यस संस्थाले २०५४ सालमा नेपाल राष्ट्र बैंकबाट सिमित कारोबार गर्न स्वीकृती समेत प्राप्त गरेको थियो । सदस्यलाई आवश्यक सम्पर्ण वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले कृषि प्रवद्र्धनका उद्देश्यले निःशुल्क तालिम र घरदैलो परामर्श सेवा सञ्चालन गर्दै आएको छ । यसका साथै स्थानीय उपभोक्तालाई सुलभ दरमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन र सदस्यका उत्पादनको बजारिकरण गर्न ‘किसान कोप–मार्ट’ समेत संस्थाले सञ्चालन गरेको छ । विभिन्न विपद् र महामारीका समयमा समेत संस्थाले समुदाय तथा सदस्यको साथमा रही राहत कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

संस्थाको बर्दियामा १, बैतडीमा १, कैलालीमा २३, कञ्चनपुरमा ७, अछाममा ३, डडेल्धुरामा २ र डोटीमा ३ वटा वित्तीय युनिटहरुबाट सदस्यलाई सेवा प्रवाह गर्दै आएको छ । संस्थाले लम्की, बौनिया र सुखडमा किसान कोप मार्ट सञ्चालन गर्दै आएको छ । त्यस्तै किसान कोप एग्रो अन्तर्गत माटो परीक्षण प्रयोगशाला, मल बिउ विजन केन्द्र, एकीकृत कृषि फर्म र कोड स्टोर समेत संस्थालन गर्दै आएको छ । 

स्थापना दिवसको अवसरमा संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले शुभकामना तथा प्रतिवद्धता व्यक्त गर्दै सम्पूर्ण सरोकारवालाप्रति आभार प्रकट गरेका छन्। शाहले आगामी दिनमा पनि सदस्यको हित, सहकारीको सुदृढीकरण र समुदायको आर्थिक विकासका लागि निरन्तर प्रयत्नशील रहने प्रतिबद्धता जनाएका छन्।

चुनौतीहरूका बीच पनि संस्थाले राष्ट्रियस्तरमा बलियो छवि बनाउँदै वित्तीय सेवा प्रवाहमा उल्लेखनीय योगदान दिएको शाहले बताए। तीव्र प्रतिस्पर्धाका बीच संस्थाले नयाँ–नयाँ कार्यक्रम ल्याउँदै आफ्नो दरिलो उपस्थिति जनाएको र लोकप्रियता हासिल गर्दै छुट्टै पहिचान स्थापित गर्न सफल भएको उनले बताए।

शाहका अनुसार सदस्यलाई केन्द्रमा राखेर तयार पारिएका योजनाहरूका कारण नै यो उपलब्धि सम्भव भएको हो। अब यस उपलब्धिलाई संस्थागत गर्दै अझ लामो दूरीको यात्रा तय गर्नुपर्ने जिम्मेवारी आफूहरूमा रहेको उनले उल्लेख गरे।

भविष्यमा दीर्घकालीन योजना निर्माण गर्दै नयाँ सोच, कार्यक्रम र आयामका साथ अघि बढ्न शेयरसदस्य, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार समिति, नियमनकारी निकाय तथा शुभेच्छुक संघ–संस्था र व्यक्तिहरूबाट निरन्तर सल्लाह, सुझाव र मार्गदर्शनको अपेक्षा रहेको पनि शाहले बताएका छन्।

संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले समुदायमा वित्तीय सेवाबाट बिमुख र कृषिमा आश्रित भई जीविका चलाउन उत्सुक सदस्यहरुलाई वित्तीय तथा गैर–वित्तीय सेवामार्फत सबल बनाउनु नै संस्थाको मुख्य उद्देश्य भएको बताए।

शाहका अनुसार यही ध्येयलाई आत्मसाथ गर्दै संस्थाले “समृद्धिका लागि समुदाय संग–संगै” भन्ने नारा तय गरेको छ।

३०औं वार्षिकोत्सवको अवसरमा संस्थाले आज (सोमबार) रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि ४ बजेसम्म रक्तदान कार्यायम आयोजना गरिएको संस्थाले जनाएको छ।

Advertisment

थप समाचार