Below Menu
Below Menu

सहकारी बैंकको निर्वाचन पुस १२ गते, साधारण सभामा सहभागिले मात्रै निर्वाचनमा भाग लिन पाउने

७ सदस्यीय सञ्चालक समितिमा २ जना स्वतन्त्र सञ्चालक र अध्यक्ष सञ्चालकहरुबाट निर्वाचित

सहकारी बैंकको निर्वाचन पुस १२ गते, साधारण सभामा सहभागिले मात्रै निर्वाचनमा भाग लिन पाउने

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन आगामी पुस १२ गते शनिवार गर्ने गरी आगामी मंसिरमा हुने २२औं वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय भएको छ।

बैंकको आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले नियामक निकायको निर्देशन अनुसार निर्वाचन गर्ने गरी मिति प्रस्ताव गर्ने निर्णय गरेको हो। बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सञ्चालक समितिको संरचना पुनर्संरचना गर्नुपर्ने भएकाले, सोही प्रयोजनका लागि विनियम संशोधनको प्रस्ताव पनि २२औं वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको छ।

संशोधित विनियम साधारण सभाबाट पारित भई नियामक निकायबाट अन्तिम स्वीकृति प्राप्त भएपछि पुस १२ गते शनिवार सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन हुनेछ । यसका लागि बैठकले निर्वाचन उपसमिति गठन गरी निर्वाचन कार्यविधि अनुसार सम्पूर्ण प्रक्रिया सञ्चालन गर्न आवश्यक अधिकार प्रदान गरिएको अध्यक्ष महेन्द्र कुमार गिरीले बताउए।

यसअघि असोज २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकको २२औं वार्षिक साधारण सभा मंसिर ६ गते सातै प्रदेशमा एकैसाथ र मंसिर १३ गते एकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणित सभा (केन्द्रीय) गर्ने निर्णय गरेको थियो । मंसिर ६ गतेको एकाई स्तरीय साधारण सभामा सहभागी सदस्य सहकारी संघ संस्थाका प्रतिनिधिहरूले मात्र आगामी पुस १२ गतेको निर्वाचन सम्बन्धी कार्यक्रममा भाग लिन पाउने छन् ।

त्यसैगरी बैंकले विनियम संशोधनका सम्बन्धमा सदस्य संघ संस्थाहरूबाट कार्तिक २५ गतेसम्म सल्लाह र सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ ।

अघिल्लो साधारण सभाहरूमा कार्यविधि संशोधनका बेला पहिले जानकारी नपाएको वा अध्ययन गर्न समय नपाएको भन्ने सदस्य सहकारी संघ संस्थाका प्रतिनिधिहरूको गुनासोलाई सम्बोधन गर्दै यस पटक बैंकले पारदर्शिता, सहभागिता र विश्वास वृद्धि गर्ने उद्देश्यले सञ्चालक समितिको निर्णयअनुसार विनियम संशोधन मस्यौदा विद्युतिय माध्यमबाट अध्ययनका लागि उपलब्ध गराउने व्यवस्था गरेको प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए।

राष्ट्र बैंकले १६ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको सहकारी बैंकलाई विनियम संसोधन गरी ७ जनाको मात्र सञ्चालक समिति बनाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

बैंकले विनियमन संसोधन गरी ५ जना शेयर सदस्य र २ जना स्वतन्त्र सञ्चालक रहने गरी बैंकको संचालक समिति पुर्नसंरचना गर्नेछ । यस्तै सञ्चालकहरुबाट अध्यक्ष निर्वाचित हुने गरी विनियम संसोधनको तयारी बैंकले गरेको छ ।

बैंकमा हाल १६,४६० वटा सहकारी सदस्य छन् ।

Advertisment