काठमाडौं : प्रभु म्यानेजमेन्ट प्रा.लि.मा सहकारीहरुको फसेको रकम उठाउन राष्ट्रिय सहकारी महासंघ नेपालले पहल गर्ने भएको छ । देशभरका सहकारी संघ/संस्थाहरुको के कति रकम फसकेको छ सो को विवरण कलेक्सन गरी महासंघले उक्त रकम उठाउन पहल गर्ने भएको हो ।
महासंघले आफ्ना सदस्यहरुलाई पत्राचार गरी फसेको रकमको विवरण पठाउन भनेको छ । अहिले देशभरका सहकारी संघ संस्थाले प्रभु म्यानेजमेन्टबाट पाउनेपर्ने रकमको विवरण महासंघलाई धमाधम पठाउन थालेका छन् । महासंघको बोर्ड बैठकबाटै निर्णय भई सहकारीको फसेको पैसा उठान पहल गर्ने निर्णय भएको महासंघका कार्यबाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले वित्तीय पोस्टलाई जानकारी दिए।
प्रभु म्यानेजमेन्ट प्रा.लि.सँग देशभरका सहकारीले सम्झौता गरी प्रभु रेमिट्यान्सको कारोबार गर्दै आएका थिए । रेमिट्यान्स कारोबार गर्न राखेको धरौटी रकम र सहकारी संस्थाहरूले सम्बन्धित व्यक्ति (बेनिफिसरी) लाई विप्रेषण बापतको रकम भुक्तानी गरेको रकम प्रभु म्यानेजमेन्ट प्रालिबाट सम्बन्धित सहकारी संस्थाहरूलाई करोडौं रकम सोधभर्ना गरेको छैन ।
उक्त कम्पनीबाट पाउनुपर्ने रकमको एकिन तथ्यांक महासंघले संकलन गरिरहेको र त्यसपछि कम्पनी विरुद्ध महासंघ एक्सनमा जाने महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका पोखरेलले बताए ।
हालसम्म ४० जिल्लाका ३५० सहकारीको करिब ४५ करोड रुपैयाँ उक्त कम्पनीबाट पाउनुपर्ने देखिएको पोखरेलले बताए । ‘करिब १ अर्ब रुपैयाँ देशभरका सहकारीले प्रभु म्यानेजमेन्ट प्रा.लि.सँग लिनुपर्ने अनुमान गरिएको छ । यो भनेको धेरै ठूलो रकम हो’, उनले भने, ‘हामी तथ्यांक संकलन गर्दैछौं । देशभरका सहकारीहरुले पाउनुपर्ने रकमसहित संघहरुमार्फत र सिधै संस्थाहरुले महासंघलाई पठाईरहनु भएको छ ।’
कम्पनीबाट पाउनुपर्ने रकम सहितको विवरण पठाउन बाँकी रहेका सहकारीलाई विवरण पठाउन उनले आग्रह गरे ।
सबै सहकारीहरुबाट विवरण आएपछि महासंघले नेतृत्व गरी नेपाल राष्ट्र बैंक, सहकारी विभाग, नेपाल प्रहरी, सहकारी मन्त्रालय लगायतका निकायमा रकम फिर्ताका लागि पहल गरिदिन अनुरोध गर्ने कार्यबाहक अध्यक्ष पोखरेलले बताए। आवश्यक परे महासंघले कानूनी प्रक्रिया समेत अबलम्बन गर्ने उनले स्पष्ट पारे ।
प्रभु म्यानेजमेन्ट प्रा.लि.की अध्यक्षमा कुसुम लामा छिन् ।
ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा लामो समयदेखि अुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु म्यानेजमेन्ट प्रा.लि.का तत्कालिन मुख्य सञ्चालक देवी प्रकाश भट्टचनलाई मंगलबार (कात्तिक ११ गते) ललितपुरबाट पक्राउ गरेको थियो । नेकपा एमालेका पूर्वसांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
सीआईबीले प्रभु म्यानेजमेन्ट प्रा.लि.की अध्यक्ष कुसुम लामालाई समेत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा लामो समयदेखि अनुसन्धान गरिरहेको छ।
भट्टचनले २०७१ चैत ४ गते उक्त कम्पनी छाडेका थिए । उनले हस्तान्तरण गरेको सेयरमध्ये केही सेयर उनकी छोरी शिक्षा भट्टचन र भतिज मिजास भट्टचनको नाममा केही समय रहेको थियो तर उनीहरुले पनि सबै सेयर लामालाई सुम्पिएका थिए ।
Advertisment