काठमाडौं : पछिल्लो एक वर्षयता प्राकृतिक विपत्ति र आन्दोलनका कारण ठूलो मात्रामा अतिरिक्त दाबी भुक्तानीको सामना गरेका बीमा कम्पनीहरुको व्यवसाय पुनः लयमा फर्किएको छ ।
विशेषगरी गत भदौं २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र असोजको अविरल वर्षापछिको बाढी पहिरोले उच्च दाबी परेपनि असोजमा कम्पनीहरुको व्यापार उल्लेख्य रुपमा बढेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।
विपद्का घटनाले दाबी भुक्तानी बढ्दा व्यवसाय विस्तारमा विभिन्न चुनौतिहरु झेलिरहेका बीमा कम्पनीहरुको व्यवसाय सुधारोन्मुख देखिएको बीमा प्राधिकरणको तथ्यांकले देखाएको हो ।
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
यद्यपी जेनजी आन्दोलनको क्षतिमा परेको दाबी उल्लेख्य देखिएपनि एक महिनामा बीमा कम्पनीहरुको व्यापार पनि उल्लेख्य वृद्धि भएको छ । गत भदौंको तुलनामा असोज मसान्तसम्म आईपुग्दा कम्पनीहरुको व्यवसाय ५६ प्रतिशतले बढेको हो ।
प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा कम्पनीहरुले लघु बीमा व्यवसाय समेत गरी १२ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । जुन गत भदौ मसान्तसम्मको तुलनामा भने ५५.८४ प्रतिशतले बढी हो ।
भदौ मसान्तसम्म कम्पनीहरुले लघु बीमासहित गरी चार लाख ९० हजार ३०७ बीमालेख बिक्री गरी आठ अर्ब २९ करोड ३२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए । असोज महिनामा मात्रै कम्पनीहरुले चार अर्ब ६३ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
व्यवसायको मुख्य आधारः मोटर र सम्पत्ति बीमा
हाल निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बिमा, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियरिङ, कृषि तथा बाली बिमा र लघु बिमा लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका छन् ।
निर्जीवन बीमा कम्पनीको ठूलो हिस्सा सम्पत्ति बीमा र मोटर बीमाले धानेको छ । जेनजी आन्दोलनपछि सम्पत्ति र मोटर बीमा गर्नेहरुको संख्यामा उल्लेख्य वृद्धि भएसँगै बीमा कम्पनीहरुको व्यापारमा पनि ग्रोथ देखिएको हो ।
असोजसम्ममा मोटर बीमाबाट कम्पनीहरुले चार अर्ब २६ करोड १९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । जुन रकम गत भदौं मसान्तको तुलनामा ८४.७४ प्रतिशतले बढी हो । भदौंसम्ममा यस्तो बीमाशुल्क दुई अर्ब ३० करोड ६९ लाख रुपैयाँ थियो । एक महिनामै यस्तो व्यापार दोब्बरले बढेको हो ।
असोजमा मात्रै कम्पनीहरुले एक लाख ५० हजार ५९४ वटा मोटर बीमालेख जारी गरी एक अर्ब ९५ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।
यसैगरी एक महिनामा सम्पत्तिको बीमा व्यवसाय पनि ४१.१० प्रतिशतले बढेको छ । यस अवधिमा सम्पत्ति बीमाबाट कम्पनीहरुले तीन अर्ब ५४ करोड ७६ लाख रुपैयाँ संकलन गरेका छन् । भदौसम्म सम्पत्ति बीमा मार्फत दुई अर्ब ५१ करोड ४२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।
असोजमा मात्रै कम्पनीहरुले ४३ हजार ८६० वटा सम्पत्ति बीमालेख बिक्री गरेका छन् भने एक अर्ब तीन करोड ३३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।
सरकारले सवारी साधन दर्ता गर्दा बीमा अनिवार्य र भवन निर्माण स्वीकृति, बैंक ऋण र ठुल संरचनामा सम्पत्ति बीमा अनिवार्य गरेका कारण निर्जीवन बीमा व्यवसायले भरथेग पाएको देखिन्छ ।
यसले विपत्ति र आन्दोलनका घटनाले एकातिर कम्पनीहरुको ठूलो दाबी भुक्तानीको भार थोपरे पनि अर्कोतिर जोखिमको सचेतना बढ्दा बीमाको आवश्यकता महसुस गरी सम्पत्ति र मोटर बीमातर्फ आकर्षित भएको पनि स्पष्ट पारेको छ ।
प्राकृतिक विपत्ति र आन्दोलन लगायतका घटनाबाट ठूलो मात्रामा भौतिक संरचना र सवारी साधनमा क्षत्ति पुगेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ । प्राधिकरणको तथ्यांक हेर्दा जेनजी आन्दोलनमा क्षति भएका सम्पत्ति बीमामा मात्रै १९ अर्ब एक करोड ९३ लाख र मोटर बीमामा ३ अर्ब ४४ करोड २५ लाख रुपैयाँ बराबरको दावी परेको छ ।
यस्तै गत असोज १८ गतेको बाढी पहिरोका कारण पनि सम्पत्ति बीमामा ३ अर्ब १९ करोड ४९ लाख र मोटर बीमा अन्तर्गत ३ करोड ७४ लाख रुपैयाँ बराबरको दावी परेको छ ।
चालु आवको तीन महिनामा बीमा कम्पनीहरुले सामुन्द्रिक बीमाबाट ७४ करोड ५ लाख, हवाई बीमाबाट ५१ करोड ६९ लाख, इन्जिनियरिङ तथा ठेक्का बीमाबाट एक अर्ब ६० करोड ३६ लाख, विविधबाट एक खर्ब ४८ करोड १३ लाख र कषि तथा बाली बीमाबाट ४९ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
एक वर्षमा कम्पनीहरूले सामना गरेका प्रमुख घटना र दाबीको विवरण
एक वर्षमा बीमा कम्पनीहरुले ठूलो रकम बराबरको अतिरिक्त दाबी भुक्तानीको सामना गरे । २०८१ असोज १० र १२ गतेको बाढी पहिरो, चैत १५ गतेको राजावादी आन्दोलन, गत असोज १८ गतेको अविरल वर्षापछिको बाढीपहिरो र भदौं २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको क्षतिको दाबी ।
गत वर्षको बाढी पहिरोको क्षतिमा बीमा कम्पनीहरुमा १२ अर्ब २७ करोड ५७ लाख रुपैयाँ बराबरको दावी परेको थियो । उक्त क्षतिमा परेको दावी भुक्तानी अझै पनि भइरहेको छ ।
यस्तै, गत चैत १५ गते काठमाडौंमा भएको राजावादी आन्दोलनका कारण पनि भौतिक सम्पत्तिमा ठूलो क्षति पुग्यो । राजावादीहरुको आन्दोलनको क्षतिमा पनि कम्पनीहरुमा चार करोड २१ लाख रुपैयाँको बीमा दावी परेको छ । उक्त दाबी पनि भुक्तानीको अन्तिम तथ्यांक पनि आइसकेको छैन ।
गत असोज १८ गतेदेखि अविरल वर्षा तथा बाढी पहिरोको कारणले भएको क्षतिमा पनि तीन अर्ब ७८ करोड ४० लाख रुपैयाँ बराबरको दाबी परेको छ । जसमा सम्पत्ति बीमामा सबैभन्दा बढी तीन अर्ब १९ करोड ४९ लाख रुपैयाँको दाबी परेको छ ।
यद्यपी दाबी भुक्तानी बीमा कम्पनीहरुको नियमित प्रक्रिया नै भएपनि पछिल्ला विभिन्न घटनाहरुले उच्च मात्रामा अतिरिक्त दाबी पर्दा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय नै प्रभावित भयो ।
बैंकहरुको घट्दो ब्याजदर, आन्दोलन हुलदंगा र बाढी पहिरो लगायतका विपद्का घटनाले प्रत्यक्ष रुपमा प्रभावित बनेको निर्जीवन बीमा व्यवसाय अहिले भने पुनः लयमा फर्किएको देखिएको छ ।
कुन कम्पनीले कति उठाए बीमाशुल्क ?
यस अवधिमा सर्वाधिक बीमाशुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । कम्पनीले ६५ हजार १०२ बीमालेख जारी गरी एक खर्ब ४९ करोड ८३ लाख ३० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
प्राधिकरणका अनुसार असोज मसान्तसम्म शिखर इन्स्योरेन्सले एक खर्ब ३८ करोड ४६ लाख ३२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने एनएलजी इन्स्योरेन्सले एक अर्ब दुई करोड ५६ लाख ५८ हजार रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।
असोज मसान्तसम्म हिमालयन एभरेष्टले एक अर्ब १९ करोड ६६ लाख ४५ हजार रुपैयाँ बराबरको बीमाशृल्क आर्जन गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक अर्ब २२ करोड ४३ लाख ९२ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
प्राधिकरणका अनुसार यस अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले ४३ हजार ४०८ बीमालेख बिक्री गरी ७० करोड ६२ लाख १७ हजार रुपैयाँ बीमाुशल्क आर्जन गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले ७८ करोड ८५ लाख १३ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले ४१ करोड ४१ लाख ५८ हजार, नेशनल इन्स्योरेन्सले ४२ करोड ८४ लाख ६७ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने नेको इन्स्योरेन्सले ९२ करोड ८३ लाख ७७ हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार यस अवधिमा प्रभु इन्स्योरेन्सले ५० करोड ५६ लाख २७ हजार रुपैयाँ र सानिमा जिआइसीले ६८ करोड १८ लाख ५३ हजार रुपैयाँ बराबरको व्यापार गरेका छन् ।
प्राधिकरणका अनुसार असोज मसान्तसम्ममा आईजीआई प्रुडेन्सियलले ९९ करोड छ लाख ७९ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने युनाइटेड अजोडले ८८ करोड २९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
लघुबीमाको व्यापार साढे २६ करोडमाथि
चालु आवको यस अवधिमा निर्जीवन बीमा अन्तर्गतका चार लघुबीमा कम्पनीहरुले साढे २६ करोडको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले ९१ हजार ६३१ बीमालेख जारी गरी २६ करोड ८१ लाख ३९ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।
यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सात करोड तीन लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले छ करोड ९९ लाख, स्टार माइक्रो इन्स्योरेन्सले पाँच करोड ८२ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले छ करोड ९५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेकोे हो ।