Below Menu
Below Menu

श्रमिक र जेनजी पुस्ताहरुको माग सम्बोधन गर्न ट्रेड युनियन काँग्रेसको माग

श्रमिक र जेनजी पुस्ताहरुको माग सम्बोधन गर्न ट्रेड युनियन काँग्रेसको माग

काठमाडौं : नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकका आन्दोलन र जेनजी पुस्ताहरुको मागलाई सम्बोधन गर्दै तत्काल अघि बढ्नसरकारलाई अनुरोध गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै युनियनले १३ बुँदे माग गर्दै निकट भविष्यमा हुन गइरहेको राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनमा जेनजी आन्दोलनको भावना अनिवार्य रुपमा नव युवा समूह र श्रमिकहरुको प्रतिनिधित्व हुनेगरी कानुनी व्यवस्था गर्न समेत माग गरेको छ ।

ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले डिजिटलाईजेशन, सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी प्रबद्र्धन, नातावाद तथा बेथितिको अन्त्य गर्न युनियनले यसअघि नै पटक पटक माग उठाउँदै आएको भएपनि तत्कालीन अवस्थामा सरकारले नसुनेको बताए । 

तर हाल नव युवाहरु विभिन्न मागहरुसहित प्रदर्शनमा आएका कारण राजनीतिक परिदृश्य परिवर्तन भएकाले अब ति मुद्दाहरुलाई सम्बोधन गर्नेगरी तत्काल अघि बढ्न उनले अनुरोध गरे ।

महासचिव राईले आगामी निर्वाचनमा स्वदेश तथा विदेशमा कार्यरत श्रमिकहरुले आफ्नो कार्यस्थलबाट नै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगलाई विशेष ध्यानाकर्षण समेत गराए । 

त्यस्तै नेपालको संविधानको धारा ४२ (क) को मर्म अनुरुप नव युवा तथा श्रमिकहरुलाई पनि समावेशी स्वरुप संसदीयलगायत सबै प्रकृतिको निर्वाचनहरुमा बेग्लै क्लष्टर बनाउन सम्बन्धित सरकार र निर्वाचन आयोगमा अनुरोध गर्ने निर्णय भएको पनि सुनाए ।

नेपाली काँग्रेस निकट ट्रेड युनियन कांग्रेसले नियमित महाधिवेशनका पक्षमा जोड दिएको छ । संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘वर्तमान कार्य समितिको पदावधिको समय यही २०८२ मंसिर भित्र मात्र रहेको र आगामी महाधिवेशनको मितिलाई लिएर नेपाली काँग्रेसको लामो समयदेखी चलिरहेको निरन्तरको बैठकप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई सशक्त बनाउन नयाँ नीति र ताजा नेतृत्व सहित सहभागी हुनु बुद्धिमानी हुन्छ भन्ने हाम्रो ठहर छ । त्यसर्थ महासंघ आम निर्वाचनपूर्व एकिकृत रुपमा सहमतीका साथ विधानका साथै संविधानको मुलमर्म अनुसार सबै वर्गहरुको सहभागिता हुने गरी यथाशिघ्र महाधिवेशन गर्ने निर्णय लिन  नेपाली काँग्रेसको केन्द्रीय समितिलाई आव्हान गर्दछ । नेपाली कांगे्रसको निर्णय विहिनताले मुलुक पनि दिशाविहीन भएको समेत महासंघको ठहर रहेको छ ।’

त्यस्तै कांगे्रसको विशेष जिम्मेवारीमा रहेका शीर्ष नेतृत्वहरु बाहेक प्रत्यक्ष तथा समानुपातिकतर्फ दुई पटक भन्दा बढि संसदीय प्रतिनिधिको रुपमा अवसर पाइसकेकाहरुलाई संगठनको जिम्मेवारी दिई दोहोरो जिम्मेवारी नहुनेगरी युवा, महिला र श्रमिक वर्ग समेत समावेशी रुपमा समेट्ने गरी उम्मेद्वारहरु तय गर्ने नीति लिन समेत अनुरोध गरेको छ ।

कार्तिक २१ र २२ गते काठमाडौंमा सम्पन्न महासंघको राष्ट्रिय कार्य समितिको बैठकले गरेका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष योगेन्द्र कुमार कुँवरले पनि सम्बोधन गरेका थिए । 

यस्ता छन् १३ बुँदे मागहरु

१. डिजिटलाईजेशन, सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी प्रबद्र्धन, नातावाद तथा बेथितिको अन्त्य आदि मुद्धाहरु यस महासंघले पटक–पटक उठाउँदै आएको थियो । तर, तत्कालीन सरकारले सुनिरहेको थिएन । यसै परिस्थितिमा नव युवाहरु न्भल(श् को रुपमा २६ वटा सामाजिक संजालमा नेपाल सरकारले लगाएको प्रतिबन्धका विरुद्ध उक्त मागहरुसहित प्रदर्शनमा आएका कारण राजनीतिक परिदृश्य परिवर्तन भएको हाम्रो ठहर रहेको छ । तसर्थ, यी मुद्दाहरुलाई सम्बोधन गर्नेगरी तत्काल अघि बढ्न यस महासंघ नेपाल सरकारलाई अनुरोध गर्दछ ।

२. निकट भविष्यमा हुनगइरहेको राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनमा न्भल श् आन्दोलनको भावना अनुरुप अनिवार्य रुपमा नव युवाहरु र श्रमिकहरुको प्रतिनिधित्व हुनेगरी संविधानको मुल मर्म अनुसार कानुनी व्यवस्था गर्न सम्बन्धित निकायहरुमा अनुरोध गर्ने । 

३. भाद्र २४ गते सरकारी, नीजि औद्योगिक तथा व्यापारिक प्रतिष्ठान र ट्रेड युनियनका भवन तथा सम्पत्ति माथि भएको तोडफोड, आगजनी र लुटपाटबाट ठूलो क्षति एवं मुलुकको अन्तर्राष्ट्रिय छवी समेत धुमिल भएको छ । त्यसर्थ यस्ता अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुको छानविन र अनुसन्धान गरी दोषीलाई कानुनी कारवाही गर्न यो महासंघ माग गर्दछ । साथै, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाज्यूलगायत अन्य व्यक्तित्वहरु माथि भाद्र २४ गते भएको सांघातिक आक्रमणको महासंघ निन्दा तथा भत्र्सना गर्दछ ।

४. भाद्र २३ गतेको जेनजी प्रदर्शनको क्रममा अधिकतम बल प्रयोगबाट भएको प्रदर्शनकारी नव युवाहरुको निधनप्रति महासंघ अत्यन्त दुःख व्यक्त गर्दछ । उक्त प्रदर्शनको क्रममा मृत्युवरण गरेकाहरुलाई सम्मान सहित क्षतिपूर्ति र घाइतेहरुको निशुल्क उपचार गर्न सरकारसंग माग गर्दछ, साथै सरकारबाट मृतकहरुलाई शहीद घोषणा गरिएकोमा यस महासंघ सरकारप्रति आभार समेत प्रकट गर्दछ । 

५. आगामी निर्वाचनमा स्वदेश तथा विदेशमा कार्यरत श्रमिकहरुले आफ्नो कार्यस्थलबाट नै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगलाई विशेष ध्यानाकर्षण गराउने ।

६. नेपालको संविधानको धारा ४२ (क) को मर्म अनुरुप नव युवा तथा श्रमिकहरुलाई पनि समावेशी स्वरुप संसदीयलगायत सबै प्रकृतिको निर्वाचनहरुमा बेग्लै क्लष्टर बनाउन सम्बन्धित सरकार र निर्वाचन आयोगमा अनुरोध गर्ने ।

७.  जेनजी आन्दोलनको कारण कल कारखाना, उद्योग तथा व्यापारिक प्रतिष्ठानमा भएको तोडफोड, आगजनीको कारण धेरै श्रमिकहरु बेरोजगार बनेका छन् । श्रमिकहरुलाई बेरोजगार हुन नदिने र रोजगारको नयाँ अवसरको लागि आवश्यक नीतिसहित कार्यक्रम ल्याउन नेपाल सरकारसँग अनुरोध गर्ने । साथै जेनजी आन्दोलनलाई तेस्र्याएर केही उद्योग, प्रतिष्ठानहरुबाट प्रचलित कानुनको उल्लंघन गर्दै बेतलवी विदा सहितको प्रतिष्ठानहरु बन्द गर्ने प्रचलन बढेकोमा त्यसप्रति पनि यस महासंघको ध्यानाकर्षण भएको छ र त्यसप्रति पनि सरकारले यथाशिघ्र सम्बोधन गर्नु पर्दछ भन्ने माग रहेको छ । मुलुकको अस्थिर राजनीति र शान्ति सुव्यवस्थाको अभावको कारणबाट लगानी भई रहेको पुँजी पनि बाहिर पलायन हुने खतरा बढि रहेको र बाहय पुँजी पनि मुलुकमा भित्रिन समस्या देखिएको हुँदा सो उपर पनि सबै राजनीतिक दल तथा सरकारलाई गम्भीर भई समस्याको सम्बोधन गर्न समेत महासंघ माग गर्दछ ।

८. संविधान प्रदत्त ट्रेड युनियन अधिकारलाई संकुचन गर्नेगरी बेला–बेलामा सरकारमा रहेका जिम्मेवार व्यक्तित्वहरुबाट आएका अभिव्यक्तिलाई यस महासंघले गम्भीर रुपमा लिएको छ । आईएलओ  अन्तर्राष्ट्रिय सन्धी, महासन्धीको भावना अनुकुल नेपालको संविधान, २०७२ बाट मौलिक हकको रुपमा प्राप्त संगठन गर्ने, सौदावाजी गर्ने, उचित श्रम अभ्यास गर्ने र योगदानमा आधारित सामाजिक सुरक्षा तथा उचित ज्यालाको अधिकार संविधान प्रदत्त मौलिक अधिकार हो । यसका विरुद्ध कुनैपनि अभिव्यक्ति नदिनुहुन र कुनैपनि निर्णय लिने दुस्साहास नर्गन यस महासंघ सम्बन्धीत नेतृत्व तथा निकायलाई सचेत गराउँदछ । 

९.  कानुनतः सामूहिक सौदावाजीबाट प्रतिष्ठानहरुले प्राप्त गरेका सेवा, सुविधाहरुलाई एकरुपता कायम गर्ने नाममा कटौती गर्ने प्रयास हुँदै आएको छ । द्धिपक्षीय वा त्रिपक्षीय सहमतीमा भएका पूर्ववर्त सामुहिक सम्झौता विपरित हुनेगरी कुनैपनि निर्णय यस महासंघलाई मान्य नहुने समेत नेपाल सरकार लगायत सम्बन्धित निकायमा ध्यानाकर्षण गराउदछौ । 

१०. आगामी फाल्गुण २१ गतेको निर्वाचनलाई स्वच्छ, निस्पक्ष र मर्यादित बनाउन पूर्ण सुरक्षा र निष्पक्षताको प्रत्याभूति जरुरी छ । तसर्थ राजनीतिक दलहरु र अन्य सरोकारवाला सबै पक्षलाई समेटेर निर्वाचनको सहज वातावरण बनाउन र कम खर्चिलो र मितव्ययी निर्वाचनको वातावरण बनाउन नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्ने । त्यस्तै गरेर सो फाल्गुण २१ गतेको निर्वाचनलाई पुर्ण रुपले सफल बनाउन मुलुकको सबै पक्षलाई समन्वय गरी नेतृत्वदायी भूमिका निर्वाह गर्नेगरी तत्काल नेपाली काँग्रेसलाई निर्वाचनमा सहभागी हुनका लागि निर्णय लिन आव्हान गर्ने । साथै वर्तमान कार्य समितीको बैठकले तत्कालै जेनजी आन्दोलनबारे पनि आफ्नो दृष्टिकोण तय गरी जनमानसमा तत्काल ल्याउनुपर्ने ।

११. नेपाली काँग्रेसको वर्तमान कार्य समितिको पदावधिको समय यही २०८२ मंसिर भित्र मात्र रहेको र आगामी महाधिवेशनको मितिलाई लिएर नेपाली काँग्रेसको लामो समयदेखी चलिरहेको निरन्तरको बैठकप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई सशक्त बनाउन नयाँ नीति र ताजा नेतृत्व सहित सहभागी हुनु बुद्धिमानी हुन्छ भन्ने हाम्रो ठहर छ । त्यसर्थ महासंघ आम निर्वाचनपूर्व एकिकृत रुपमा सहमतीका साथ विधानका साथै संविधानको मुलमर्म अनुसार सबै वर्गहरुको सहभागिता हुने गरी यथाशिघ्र महाधिवेशन गर्ने निर्णय लिन  नेपाली काँग्रेसको केन्द्रीय समितिलाई आव्हान गर्दछ । नेपाली कांगे्रसको निर्णय विहिनताले मुलुक पनि दिशाविहीन भएको समेत महासंघको ठहर रहेको छ ।

१२. नेपाली कांगे्रसको विशेष जिम्मेवारीमा रहेका शीर्ष नेतृत्वहरु बाहेक प्रत्यक्ष तथा समानुपातिकतर्फ दुई पटक भन्दा बढि संसदीय प्रतिनिधिको रुपमा अवसर पाइसकेकाहरुलाई संगठनको जिम्मेवारी दिई दोहोरो जिम्मेवारी नहुनेगरी युवा, महिला र श्रमिक वर्ग समेत समावेशी रुपमा समेट्ने गरी उम्मेद्वारहरु तय गर्ने नीति लिन नेपाली काँग्रेसलाई आव्हान गर्ने । त्यस्तै गरेर नेपाली कांगे्रसको पार्टी संरचना भित्रपनि आरक्षित सिटहरुमा एक व्यक्तिले एक पटक भन्दा बढि अवसर नपाउने व्यवस्था गर्नु पर्दछ ।

१३. २०७० भाद्र ९ गते यस महासंघको चितवन महाधिवेशनको क्रममा संस्थागत रुपमा नेपाली काँग्रेसको सबै संरचनामा १ महिला र १ पुरुष श्रमिक प्रतिनिधित्व गराउने र राष्ट्रको नीति निर्माण र निर्णय प्रकृयाको सबै तहमा १० प्रतिशत श्रमिक प्रतिनिधित्व सुनिश्चित गर्ने गरी नेपाली काँग्रेसका तत्कालिन सभापति शुसील कोइराला र नेपाल ट्रेड युनियन काँग्रेसका तत्कालिन अध्यक्ष लक्ष्मण बहादुर बस्नेत बीच भएको ७ बुँदे संस्थागत सहमतिमा उल्लेखित विषयहरु कार्यान्वयनमा ल्याउन चालु नेपाली काँग्रेसको कार्य समिती बैठकलाई ध्यानाकर्षण गराउदै सम्बोधन गर्न का लागि महासंघ अनुरोध गर्दछ । 

Advertisment

थप समाचार