Below Menu
Below Menu

ललितपुर बचत संघको ३१औं साधारण सभा सम्पन्न, सदस्यलाई ७ प्रतिशत लाभांश

ललितपुर बचत संघको ३१औं साधारण सभा सम्पन्न, सदस्यलाई ७ प्रतिशत लाभांश

काठमाडौं : ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको ३१औं वार्षिक साधारण सभा पूर्वनिर्धारित ११ वटा एजेण्डाहरुमाथी छलफल गर्दै शनिबार सम्पन्न भएको छ। संघले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारण सभा सम्बन्धी निर्देशनको पूर्ण पालना गर्दै सदस्य संस्थाहरुको बीचमा व्यापक छलफल गरी सभा सम्पन्न गरेको हो ।

संघका अध्यक्ष रामहरि बजगाईको सभापतित्व एवं संघकी संस्थापक अध्यक्ष रोहिणी जोशीको प्रमुख आतिथ्यता तथा निवर्तमान अध्यक्ष रामशरण घिमिरेको आतिथ्यता थियो । साधारण सभाको सञ्चालन सचिव श्यामकृष्ण महर्जनले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले गरेका थिए।

सभाले सदस्य संस्थाको सदस्यता फिर्ता, जग्गा विक्रि, विनियम तथा आन्तरिक कार्यविधि संशोधन, लाभांश तथा संरक्षित पुँजी फिर्ता कोषको रकम वितरण लगायतका ११ वटा महत्वपूर्ण एजेण्डाहरु सर्वसम्मत पारित गरेको छ ।

साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बजगाईले ‘सम्मृद्ध साकोस, दिगो संघ’ को परिकल्पना लिएर  अगाडि बढेको र संस्थाहरुको क्षमता विकास र वित्तीय पहुँचका लागि निरन्तर काम गर्दै आएको बताए । जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाको विकास र प्रवद्र्धनमा स्थापनाकालदेखि नै संघले महतवपूर्ण भूमिका खेल्दै आएको उनले बताए। शिक्षा, तालिम, गोष्ठी, स्तरीकरण, अन्तर लगानी लगायतका माध्यमबाट संस्थाहरुलाई सबल र दिगो बनाउनका लागि काम गर्दै आएको अध्यक्ष बजगाई बताए। 

पछिल्लो समय केही सहकारीको गलत अभ्यासका कारण सहकारीप्रति आम सदस्यको विश्वास घटेको बताउँदै अध्यक्ष बजगाईले सहकारीप्रतिको विश्वास बढाउन अहिलेको चुनौती रहेको उल्लेख गरे । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानमा सम्बन्धित निकायहरुबाट प्रभावकारी नियमनलाई अगाडि बढाउन उनको माग छ । संस्थाहरुको कारोबार र गुणस्तरको आधारमा वर्गीकरण गर्ने व्यवस्था हुन सके समुदाय र सदस्य केन्द्रीत सहकारीहरुप्रति सदस्यको विश्वास बढ्नुका साथै राज्यबाट पाउने सुविधा समेत बढेर जाने उनले बताए । 

आर्थिक मन्दीको प्रभाव सहकारी क्षेत्रमा झन् बढी परेको भन्दै यसबाट बाहिर आउन सरकारले सहज वातावरण बनाउनु पर्नेमा उनको जोड छ । जिल्लाको दुर्गम तथा वित्तीय पहुँच नपुगेका स्थानहरुमा वित्तीय पुहँच पुर्याउन सहकारीको प्रवद्र्धन गरिने उनले सभामा जानकारी दिए। यस आर्थिक बर्षमा लेखा सुपरिवेक्षण समितिको गोष्ठी र ललितपुर साकोस समिट गरिने उनले जनाए।

महिलाहरुद्वारा सञ्चालित सहकारी संस्थालाई उद्यमशिलता विकासका लागि १० लाखसम्म विना धितो ऋण दिइने उनले सभालाई जानकारी गराए। संघमा आवद्ध भएका तर निष्कृय रहेका ५८ सहकारी संस्थाको सदस्यता खारेजी प्रक्रिया अगाडि बढाइएको उनले जनाए । सभामा लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक सानुकाजी महर्जनले प्रतिवेदन प्रस्तुत गर्दै प्रति सदस्य प्राथमिक पुँजी कोषको १५ प्रतिशतको सीमाभित्र रही ऋण लगानी गर्न सुझाए।

सभामा कोषाध्यक्ष वसन्त मालीले आर्थिक बर्ष २०८१८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी ७ करोड २० लाख ७८ हजार, जगेडा तथा अन्य कोष ९ करोड ६७ लाख ३० हजार, बचत संकलन १ अर्ब ४३ करोड ६५ लाख र ऋण लगानी ९६ करोड ११ लाख पुगेको बताए । 

विभिन्न विधामा व्यक्ति र संस्था पुरस्कृत
संघले ३१ औं साधारण सभाको अवसरमा विभिन्न विधामा व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । संघले ललितपुर महानगरपालिका सहकारी शाखाका रही सेवा निवृत भएका चिरञ्जिवी पौडेल, पूर्व सञ्चालकतर्फ युवराज शाक्य र सहकारी पत्रकारिता पुरस्कार काजी श्रेष्ठलाई प्रदान गरेको छ ।

त्यसैगरी क्षेत्रगत रुपमा महानगरपालिका भित्रबाट पद्मावती बचत तथा ऋण सहकारी संस्था, गोदावरी नगरपालिकाबाट नवदुर्गा बचत तथा ऋण सहकारी संस्था र महालक्ष्मी नगरपालिकाबाट ब्रम्हपुरी बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको छ ।

उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट बेथेल बचत तथा ऋण सहकारी संस्था पुरस्कृत भएको छ भने संघको कर्मचारी मध्येबाट सहायक व्यवस्थापक भिम बहादुर खड्का पुरस्कृत भएका छन् । सम्मानित व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।
 

Advertisment