काठमाडौं : बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत अर्थात पाँच करोड नौं लाख दुई हजार ४२५ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२५ प्रतिशत अर्थात एक अर्ब सात करोड १६ लाख ३० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले मंसिर २६ गते, २२ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा बिहान ९ः३० बजे सुरु हुनेछ।
सभाले प्रस्तावित लाभांश पारित गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्विकृत गर्ने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार मंसिर ११ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Advertisment