काठमाडौं : गुर्जाबाट काठमाडौं आएर विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहँदै आएका गुर्जावासीको साझा संस्था गुर्जा समाज काठमाडौंले गुर्जाको कम्जाखानी खोलामा निर्माण गरिन लागेको बेलीबृज पुलका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
समाजका अध्यक्ष लिलमाया छन्त्यालको अध्यक्षतामा बसेको बैठकले धवलागिरी गाउँपालिका-१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले पेश गरेको प्रस्ताव अनुसार लुलाङ–गुर्जा मोटरबाटोअन्तर्गत कम्जाखानी खोलामा बन्ने पुल निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको हो। उक्त निर्णयबारे समाजका अगुवा दिपबहादुर छन्त्यालले जानकारी दिए।
समाजले गत वर्ष नै मोटरबाटो निर्माणका लागि १० लाख सहयोग गर्ने निर्णय गर्दै संस्थापक अध्यक्ष समप्रसाद छन्त्यालको नेतृत्वमा ५ सदस्यीय समन्वय उपसमिति गठन गरेको थियो। तर पटक–पटक समन्वय गर्दा पनि उक्त रकम उपयोग गर्ने वातावरण नबनेपछि त्यस वर्ष रकम प्रयोग हुन सकेन।
यस वर्ष पनि मोटरबाटोका लागि केन्द्र तथा प्रदेश सरकारबाट पर्याप्त बजेट विनियोजन भइसकेको जानकारी प्राप्त भएपछि स्थानीय स्तरमा कम्जाखानी खोलामा पुल निर्माणका लागि बजेट अभाव भएको कारण समाजलाई सहयोग गर्न प्रस्ताव गरिएको थियो। उक्त प्रस्तावलाई स्वीकार गर्दै गुर्जा समाज काठमाडौंले बेलीबृज निर्माणमा १० लाख सहयोग गर्ने निर्णय गरेको हो।
गुर्जा समाज काठमाडौं १० वर्षदेखि सक्रिय रहेको संस्था हो। समाजले आपत–विपतमा सदस्यलाई मानविय सहयोग गर्दै आएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत समाजले धवलागिरी गाउँपालिका समाज काठमाडौंलाई देउसी–भैलो मार्फत २ लाख ३६ हजार, र नेपाल छन्त्याल सङ्घलाई १०० थान कुर्ची प्रदान गरिसकेको छ।
साथै गुर्जाको कला, संस्कृति र पहिचान संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको समाजले यस वर्ष ‘गुर्जा चिनारी गीत’ रेकर्ड गर्ने तयारीसमेत गरिरहेको अगुवा दिपबहादुर छन्त्यालले जानकारी दिए।
Advertisment