काठमाडौं : सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी (सलिको) ले विगतका वर्षहरूझैँ यस वर्ष पनि बृहत् गल्फ प्रतियोगिताको आयोजना गर्ने भएको छ। कम्पनीले मंसिर १२ र १३ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्ट, काठमाडौँमा सलिको गल्फ टुर्नामेन्ट, २०२५ आयोजना गर्न लागेको हो ।
१७ विधामा प्रतिस्पर्धा, आकर्षक पुरस्कार
प्रतियोगितामा विभिन्न उमेर समूहका महिला तथा पुरुष खेलाडीहरूका लागि १७ विधाका खेलहरू आयोजना गरिनेछन्। यस प्रतियोगिताको मुख्य उद्देश्य गल्फ खेलमा रुचि राख्ने खेलाडीहरूको प्रतिभालाई प्रस्फुटन गराउनु तथा यस खेलप्रति जो कोहीलाई आनन्दको अनुभूति गराउनु रहेको कम्पनीले बताएको छ।
नेपालमा गल्फ खेलको विकास तथा विस्तार अपेक्षित रूपमा हुन नसकिरहेको परिप्रेक्ष्यमा, यस प्रतियोगिताले खेलको विस्तारमा थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
प्रतियोगितामा खेलाइने खेलमध्ये ‘होअल् इन वान’ विधाको पुरस्कार अन्तर्गत सिप्रदि ट्रेडिङ प्रालिद्वारा टाटा नेक्जोन के३ इभी पुरस्कारको व्यवस्था गरिएको छ।
अन्य विधाका विजेताहरूका लागि सिम्रिक एअरद्वारा २ जनालाई स्काई डाइभिङ र कैलाश हेलिकप्टरबाट १ जनालाई गोसाईकुण्डको हेलिकप्टर यात्रा लगायत अन्य आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको छ।
गल्फ प्रतियोगिताको अवसरमा सलिकोले निर्जीवन बीमाको महत्त्वमाथि पनि प्रकाश पारेको छ। कम्पनीका अनुसार विभिन्न किसिमका जोखिमहरूबाट सुरक्षा प्रदान गर्ने बीमाको आवश्यकता बढ्दो अवस्थामा छ।
जोखिम व्यवस्थापन र सुरक्षाप्रति नागरिकको चासो बढ्दै गएको वर्तमान परिवेशमा, कम्पनीले गल्फ जस्ता खेलकुद गतिविधिहरूमा सहभागी माझ निर्जीवन बीमाको सचेतना बढाउनु रहेको स्पष्ट पारेको छ।
सलिकोले वर्षौंदेखि ‘बीमाः सुरक्षित भविष्यको आधार’ भन्ने नाराका साथ खेल क्षेत्र, समुदाय तथा आर्थिक–सामाजिक सुरक्षामा केन्द्रित रहँदै नेपाली बीमा क्षेत्रमा आफ्नो भूमिकालाई सुदृढ बनाउँदै आएको छ। यस्ता गतिविधिहरू मार्फत कम्पनीले बीमा सचेतना, सामुदायिक साझेदारी तथा खेलकुद मैत्री वातावरण निर्माणमा निरन्तर योगदान दिँदै आएको छ।
Advertisment