काठमाडौं : नेपालको सिमेन्ट उद्योगले चालू आर्थिक वर्ष पहिलो चार महिनामा उल्लेखनीय प्रगति हासिल गर्दै झण्डै एक अर्ब रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिङ्कर निर्यात गरेको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार, यस अवधिमा ९८ करोड ७ लाख रुपैयाँ बराबरको ५ लाख ६५ हजार ८५४ टन सिमेन्टजन्य उत्पादन निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४७.२९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा नेपालले ६६ करोड ५८ लाख ७३ हजार रुपैयाँको २ लाख ६४ हजार ७०५ टन सिमेन्टजन्य उत्पादन निर्यात गरेको थियो ।
निर्यात वृद्धिका प्रमुख आधार
विभागको तथ्यांक अनुसार कात्तिक मसान्तसम्म कुल निर्यातमध्ये ७७ करोड ३३ लाख रुपैयाँको चार लाख ४४ हजार ४६६ टन पोर्टल्याण्ड सिमेन्ट र २० करोड ७४ लाख रुपैयाँको १ लाख २१ हजार ३८८ टन क्लिङ्कर रहेको छ ।
यो उत्साहजनक वृद्धिको मुख्य कारण भारत निर्यातका लागि आवश्यक ‘बीआईएस’ गुणस्तर प्रमाणपत्रको नवीकरण हुनु हो । गत आर्थिक वर्षमा नवीकरणमा आएको अवरोधले निर्यात प्रभावित भए पनि, अहिले घोराही, बालाजी, तानसेन, अर्घाखाँची र सिजी सिमेन्टजस्ता प्रमुख कम्पनीहरूले प्रमाणपत्र नवीकरण गरिसकेका छन्।
नेपाली सिमेन्टको प्रमुख बजार भारत नै रहेको छ भने माग पनि उच्च रहेको छ । व्यवसायीहरू अर्घाखाँची, सर्वोत्तम र पाल्पा सिमेन्टजस्ता ब्रान्डमार्फत भित्ते विज्ञापनसहित विविध प्रचार–प्रसारका गतिविधिहरू सञ्चालन गरिरहेका छन् ।
विद्युत विवाद सुल्झँदा उद्योगमा आशा
सिमेन्ट उद्योगले पछिल्लो समय सामना गर्दै आएको अर्को प्रमुख चुनौती विद्युत् बक्यौताको विवाद समेत हालै सरकार र व्यवसायीबीच भएको सहमतिपछि सुल्झिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् बक्यौतामा आइपरेको समस्यालाई लिएर लाइन काट्ने कार्य गरिरहेकोमा, मध्यमार्गी सहमतिअनुसार प्राधिकरणले दिएको २८ किस्तामध्ये एक किस्ता बराबरको रकमलाई किस्ता नभई विवादित धरौटीका रूपमा बुझाउँदा काटिएको विद्युत् लाइन तुरुन्तै जडान हुनेछ।
उद्योगीहरूले सो रकम बुझाउँदै गर्दा नै आफ्नो असहमति उल्लेख गरी प्रशासनिक पुनरावलोकन तथा अन्य कानुनी उपचार खोज्न सक्ने व्यवस्था मिलाइएको छ। यो सहमतिले उद्योगहरूको सञ्चालनमा स्थिरता ल्याएको छ, जसले सिमेन्ट निर्यातलाई अझै बलियो बजार दिलाउने अपेक्षा गरिएको छ ।
तेस्रो मुलुकसम्म निर्यातको खोजी
नेपालमा सिमेन्ट उत्पादनका लागि आवश्यक चुनढुङ्गाजस्ता प्रमुख कच्चा पदार्थहरू प्रशस्त मात्रामा उपलब्ध छन् । यही कारणले गर्दा सिमेन्ट उद्योगको उत्पादन क्षमता उच्च छ ।
यद्यपि, अहिले निर्यात भारतमा मात्र सीमित छ । यदि सिमेन्ट निर्यातले तेस्रो मुलुकसम्मको बजार भेट्टाउन सकेमा यसले देशको व्यापार घाटा कम गर्न ठूलो योगदान पुर्याउनेछ । वर्तमान निर्यातले पनि व्यापार घाटाको चपेटामा परेको नेपाललाई केही हदमा राहत दिइरहेको छ ।
Advertisment