काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को पौष ३ र ४ गते ‘साकोस शिखर गोष्ठी- २०८२’ गर्ने भएको छ।
‘सञ्जालिकृत अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन’ भन्ने मुल भाव र संकल्पसहित पाँचौँ साकोस शिखर गोष्ठीको आयोजना गरिएको नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले जानकारी दिए।
नेपालको साकोस अभियानको निरन्तरता र नियामकीय अनुकूलनका विषयमा छलफल हुने गरी संघले साकोस शिखर गोष्ठीको आयोजना गरिएको सीईओ सापकोटाले बताए। गोष्ठीमा स्वदेशी तथा विदेशी विज्ञहरुबाट प्रस्तुत हुने मार्गदर्शन र अनुभव आदान प्रदानमार्फत यस क्षेत्रको क्षमता अभिवृद्धि हुने विश्वास लिइएको उनले बताए।
नेफ्स्कूनले वि.सं. २०६८ सालदेखि प्रत्येक तीन वर्षमा साकोस शिखर गोष्ठी आयोजना गर्दै आइरहेको छ। हेरिटेज गार्डेन, सानेपा हाईट, ललितपुरमा हुने गोष्ठी समापन लगत्तै पौष ४ गते नेफ्स्कूनले ३४औं वार्षिक साधारण सभा गर्नेछ ।
गोष्ठीमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारी तथा सहकारी क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहने सीईओ सापकोटाले बताए।
गोष्ठीको मूल उद्देश्य विश्वव्यापी साकोस अभ्यास र सिकाइ मार्फत आवश्यक ज्ञान सीप तथा प्रविधि अवलम्बनको वातावरण बनाउनु, जोखिम सुपरिवेक्षणका सफल अभ्यासहरूको ज्ञानको आदान प्रदान गर्नु, साकोस सञ्जालको रणनीतिक उन्नयन र नियामकीय अनुकूलन सुनिश्चितता रहेको सीईओ सापकोटाले बताए । गोष्ठीबाट सहकारी मूल्य, सिद्धान्त र साकोस दर्शनमा आधारित स्वनियमन प्रणाली स्थापना, सशक्त साकोस सञ्जाल निर्माण, नियामकीय अनुकुलताको सुनिश्चितता अपेक्षित उपलब्धी हासिल हुने उनको भनाई छ।
गोष्ठीमा ६ वटा विषयहरुमा सामूहिक छलफल हुनेछ ।
गोष्ठीमा नियामकीय मार्गचित्रः साकोसको दिगो संस्थागत रुपान्तरणको चुनौति र अवसर, सम्पती शुद्धीकरण निवारण सम्बन्धी कानुनी व्यवस्था र परिपालना, Shifting leadership for rekindling cooperative values and principles, वित्तीय सहकारीको स्वःनियामकीय अभ्यासः चुनौती तथा आगामी मार्गचित्र विश्वव्यापी दृष्टिकोण तथा नेपालमा यसको सम्भावना, वित्तीय सहकारी संस्थाहरूका लागि सञ्चालन मानकीकरण ढाँचा र वित्तीय सहकारीमा स्रोत परिचालनः वर्तमान प्रवृत्ति र आगामी मार्गदिशा विषयमा छलफल हुनेछ।
गोष्ठीमा सहभागि हुन मंसिर २० गतेभित्र दर्ता गर्नेहरूका लागि छुट सहितको ६ हजार रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै नियमित शुल्कतर्फ सात हजार र गैर–सदस्यलाई ८ हजार रुपैयाँ शुल्क तोकिएको नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए।
गोष्ठीमा देशभरबाट ७०० भन्दा बढीको सहभागीता रहने अपेक्षा नेफ्स्कूनले गरेको छ। कार्यक्रममा सहभागिता जनाउन अनलाईन फारममार्फत दर्ता गरि सहभागिता जनाउन सकिने संघले जनाएको छ।
Advertisment