काठमाडौं : घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई १०.५३६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लाभांश वितरणको प्रस्ताव पारित गर्न कम्पनीले पुस १४ गते, सोमबार, पाँचौ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा अवस्थित होटल पौवामा बिहान ९ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, हाल कायम चुक्ता पूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार मंसिर २५ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Advertisment