काठमाडौं : गत असोज १८ गतेयताको अविरल बर्षा तथा बाढीपहिरोका कारण भएको ठूलो क्षतिपश्चात् निर्जीवन बीमा कम्पनीहरूमा परेका प्रारम्भिक बीमा दाबीहरूको विवरण सार्वजनिक भएको छ।
बीमा प्राधिकरणका अनुसार हालसम्म कूल ७८१ वटा प्रारम्भिक दाबी परेका छन्, जसको अनुमानित रकम करिब ४ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।
विविध १३ निर्जीवन बीमा कम्पनी र २ लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, बीमितहरूलाई राहतस्वरुप हालसम्म कूल ६७ वटा दाबीको करिब एक करोड ८८ लाख भुक्तानी भइसकेको छ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमातर्फ ४१० वटा दाबीको दाबी रकम करिव रू. ३ अर्ब ४५ करोड ३५ लाखमध्ये कूल २० वटा बीमा दाबीको करिव रू. ८३ लाख रुपैयाँ बीमितलाई भुक्तानी भएको छ ।
त्यस्तै इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०६ वटा बीमा दाबीको करिव रू. ५० करोड ३७ लाखमध्ये कूल ६ वटा दाबीको करिव रू. २ लाख, कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबीको करिव रू. ४ करोड १४ लाखमध्ये कूल ३१ दाबीको करिव रू. १३ लाख रकम बीमितलाई भुक्तानी भएको छ ।
प्राधिकरणका अनुसार मोटर बीमा (निजी) तर्फ ४० वटा बीमा दाबीको करिव रू. ३ करोडमध्ये कूल ९ वटा दाबीको करिव रू. ८७ लाख बीमा दाबी रकम बीमितलाई भुक्तानी भएको छ । मोटर बीमातर्फ तुलनात्मक रुपमा दाबी संख्या कम भए पनि यसको भुक्तानी रकम हालसम्मको कूल भुक्तानी रकममा सबैभन्दा बढी हो।
यसैगरी, सामुद्रिक बीमातर्फ ३ वटा बीमा दाबीको करिव रू. १० लाख बीमा दाबीमध्ये एउटा दाबीको करिव रू. ३ लाख दाबी रकम बीमितलाई भुक्तानी भएको छ भने मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिव रू. १ करोड ८ लाख र लघुबीमातर्फ २ वटा दाबीको करिव रू. १२ लाख बीमा दाबी रकम भुक्तानी हुन बाँकी रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।
Advertisment