नेफ्स्कूनले गोष्ठीमा सहभागी हुन सदस्य संघ संस्थाका प्रतिनिधिहरुका लागि अर्ली बर्ड रेजिष्ट्रेशन अफर स्वरुप ६ हजार र गैर सदस्यलाई ८ हजार शूल्क तोकेको थियो । गोष्ठीमा सहभागी हुन दर्ता गराउने सबैप्रति नेफ्स्कूनले आभार व्यक्त समेत गरेको छ।
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को आयोजनामा पौष ३ र ४ गते हुने ‘साकोस शिखर गोष्ठी- २०८२’ का लागि नाम दर्ता प्रक्रिया समयअगावै बन्द गरिएको छ। ‘सञ्जालिकृत अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन’ भन्ने मुल नारासहित आयोजना गर्न लागिएको पाँचौँ साकोस शिखर गोष्ठीका सबै सिट भरिएपछि नाम दर्ता बन्द गरिएको नेफ्स्कूनले जनाएको छ।
कार्यक्रम स्थल र सिट संख्या सीमित भएकाले नाम दर्ता बन्द गरिएको नेफ्स्कूनका सञ्चालक सुशिल कुमार बस्न्यातले जानकारी दिए। मंसिर २९ गतेसम्म नाम दर्ता खुला रहने भनिए पनि सहभागि हुनेको उच्च चापका कारण निर्धारित समयभन्दा अघि नै (मंसिर २२ गतेदेखि) दर्ता बन्द गरिएको साकोस शिखर गोष्ठी व्यवस्थापन कार्यदलका सदस्य समेत रहेका सञ्चालक बस्न्यातले बताए।
गोष्ठीको मूल उद्देश्य विश्वव्यापी साकोस अभ्यास र सिकाइमार्फत आवश्यक ज्ञान सीप तथा प्रविधि अवलम्बनको वातावरण बनाउनु, जोखिम सुपरिवेक्षणका सफल अभ्यासहरूको ज्ञानको आदान प्रदान गर्नु, साकोस सञ्जालको रणनीतिक उन्नयन र नियामकीय अनुकूलन सुनिश्चितता रहेको नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले जानकारी दिए। गोष्ठीबाट सहकारी मूल्य, सिद्धान्त र साकोस दर्शनमा आधारित स्वनियमन प्रणाली स्थापना, सशक्त साकोस सञ्जाल निर्माण, नियामकीय अनुकुलताको सुनिश्चितता अपेक्षित उपलब्धी हासिल हुने उनको भनाई छ।
गोष्ठीमा ६ वटा विषयहरुमा सामूहिक छलफल हुनेछ । गोष्ठीमा नियामकीय मार्गचित्रः साकोसको दिगो संस्थागत रुपान्तरणको चुनौति र अवसर, सम्पती शुद्धीकरण निवारण सम्बन्धी कानुनी व्यवस्था र परिपालना, Shifting leadership for rekindling cooperative values and principles, वित्तीय सहकारीको स्वःनियामकीय अभ्यासः चुनौती तथा आगामी मार्गचित्र विश्वव्यापी दृष्टिकोण तथा नेपालमा यसको सम्भावना, वित्तीय सहकारी संस्थाहरूका लागि सञ्चालन मानकीकरण ढाँचा र वित्तीय सहकारीमा स्रोत परिचालनः वर्तमान प्रवृत्ति र आगामी मार्गदिशा विषयमा छलफल हुनेछ।
Advertisment