Below Menu
Below Menu

सहकारी अभियन्ता मिनराज कडेल नेकपा एमालेको केन्द्रीय सदस्यमा उठ्दै

सहकारी अभियन्ता मिनराज कडेल नेकपा एमालेको केन्द्रीय सदस्यमा उठ्दै

काठमाडौं : सहकारी अभियन्ता मिनराज कडेल नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारीमा छन् । राजनीति, शिक्षण र सहकारी क्षेत्रको लामो अनुभवी कडेल पार्टीको जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदका आकांक्षी हुन् । यसअघि उनले पार्टीको लेखा आयोगको सदस्यका रुपमा दुई कार्यकाल कुशलतापूर्वक भूमिका निर्वाह गरिसकेका छन् ।

पार्टीभित्रको लामो अनुभव, भुगोलको राजनीति र भावना बोकेका अनि विगतमा विभिन्न भूमिका कुशलतापूर्वक निर्वाह गरेका कारण आफू केन्द्रीय सदस्य बन्न योग्य भएको दाबी गर्छन् । उनी भन्छन्, `पार्टीको राजनीतिप्रतिको प्रतिवद्धता, लगाव र योगदानका कारण पनि अब चाहीँ केन्द्रीय कमिटीमा रहेर काम गर्नुपर्छ भन्ने लाग्यो र सल्लाहमा उम्मेदवारी दिएको छु । मलाई विश्वास छ, प्रतिनिधि साथीहरुले मलाई विजयी बनाउनुहुनेछ ।’

निष्ठाको राजनीति गर्ने नेताका रूपमा चिनिएका कडेल ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुँदै पार्टीभित्र सुशासन र समृद्धिको एजेन्डालाई संस्थागत गर्न चाहन्छन् । उक्त भूमिकामा विश्वास जित्न सके मुलुककै अग्रणी पार्टीमा बसेर देश र जनताको सेवामा अझ प्रभावकारी भूमिका खेल्न सक्नेमा उनी विश्वस्त देखिएका छन् ।

शिक्षण पेशाबाट सुरु भएको उनको राजनीतिक यात्रा आज पार्टीको केन्द्रसम्म आइपुगेको छ, जहाँ उनी अनुभव, निष्ठा र सुशासनको एजेन्डासहित जिम्मेवारी वहन गर्ने तयारीमा छन् । पार्टीभित्र कुशल संगठक तथा निष्ठावान नेताको छवि बनाएका उनको आर्थिक अनुशासनको पाटो समेत प्रशंसनीय रहँदै आएको छ ।

२०३२ सालदेखि शिक्षक पेशामा आबद्ध कडेल २०३६ साल भदौमा तत्कालीन मालेमा संगठित भएका थिए । क्रान्तिकारी शिक्षक संघमार्फत संगठित राजनीतिक जीवन सुरु गरेका उनले धादिङ जिल्लाको बेनिघाट गाउँ कमिटीको सचिव, इलाका कमिटी सचिव हुँदै २०४३ सालदेखि जिल्ला कमिटीमा बसेर संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरे। राजनीतिक रूपले चुनौतीपूर्ण समयमै पार्टीलाई मजबुत बनाउने जिम्मेवारी उनले काधमा बोकेका थिए।

२०४५ साल असोजमा सम्पन्न प्रथम जिल्ला अधिवेशनको समयमा धादिङ जिल्लामा जम्मा १६ जना पार्टी सदस्य मात्र थिए—आठ जना पूर्ण र सात जना वैकल्पिक । पाँच सदस्यीय जिल्ला कमिटी गठन गर्ने सहमतिमा सबैभन्दा बढी मत ल्याउने नेतामध्ये कडेल अग्रपंक्तिमा परे। २०४३ देखि २०५५ सालसम्म जिल्ला कमिटी सदस्य र २०५५ देखि २०६६ सालसम्म उपसचिवका रूपमा काम गरेका उनले संगठन विस्तार, कार्यकर्ता प्रशिक्षण र राजनीतिक स्थायित्वमा निरन्तर योगदान दिए ।

सातौँ महाधिवेशनपछि केन्द्रीय सहकारी विभागको सदस्यसमेत बनेका कडेल २०७१ सालमा सम्पन्न नवौँ महाधिवेशन र त्यसपछि भएको दशौँ महाधिवेशनमा लगातार केन्द्रीय लेखा आयोगको सदस्यका रूपमा चयन भए । दशौँ महाधिवेशनमै केन्द्रीय सदस्यमा दाबी गरे पनि सर्वसम्मत नेतृत्व चयनको क्रममा पार्टीको आवश्यकतालाई प्राथमिकता दिँदै उनले लेखा आयोगमै चित्त बुझाएका थिए । पार्टी सदस्यता नम्बर ७६४ भएका कडेल पुराना, अनुभवी र निष्ठावान् नेतामा  पर्छन् ।

दुई कार्यकाल केन्द्रीय लेखा आयोगमा बसेर काम गर्दा कडेलले देशभर पुगेर पार्टीको आर्थिक व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउने अभियान चलाए। बागमती प्रदेश संयोजक तथा आयोगको सचिवालय सदस्यका रूपमा जिम्मेवारी सम्हाल्दै उनले पार्टीको लेखा नियमावली, लेखा नीति र लेखा चुचाङ्क प्रणाली निर्माणमा महत्वपूर्ण भूमिका खेले। सातै प्रदेशमा लेखा सम्बन्धी तालिम सञ्चालन गराउनुका साथै केन्द्रीय कमिटी, प्रदेश, जिल्ला, उपत्यका र प्रवास कमिटीसम्मको लेखा परीक्षण गराउन सफल हुनु उनको कार्यशैलीको महत्वपूर्ण उपलब्धि मानिन्छ।

‘हरेक क्षेत्रमा आर्थिक पाटो महत्वपूर्ण हुन्छ, अझ पार्टीभित्र यसको विशेष महत्व हुन्छ’ कडेल भन्छन्। पार्टीको आर्थिक पक्षलाई सुस्त, दुरुस्त र पारदर्शी बनाउने अभियानमा आफूले प्रभावकारी काम गरेको उनको भनाइ छ।

Advertisment

थप समाचार