काठमाडौं : सहकारी क्षेत्रमा विश्वास, पारदर्शिता र उत्तरदायित्वमाथि प्रश्न उठिरहेका बेला विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोटले सुशासन प्रवर्द्धनका लागि नैतिक प्रतिज्ञा तथा शपथ अभियान सुरु गरी नयाँ र सकारात्मक अभ्यासको थालनी गरेको छ।

संस्थाले मंसिर २९ गते आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई इमानदारी, नैतिकता र सदस्यमैत्री सेवाप्रति प्रतिबद्ध गराउँदै औपचारिक रूपमा नैतिक प्रतिज्ञा तथा शपथ ग्रहण गराएको हो। कार्यक्रममा कर्मचारीहरूले वित्तीय अनुशासन कायम राख्ने, सहकारी मूल्य मान्यतालाई व्यवहारमा उतार्ने र संस्थाको हित तथा सदस्यहरूको विश्वासलाई सर्वोपरि राखेर काम गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।
विकूले यो कार्यक्रमलाई एकदिने औपचारिकतामा सीमित नगरी हरेक तीन/तीन महिनामा नियमित रूपमा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। यसले कर्मचारीहरूलाई निरन्तर आत्मअनुशासन, जिम्मेवारी र पेशागत नैतिकताप्रति सचेत गराउँदै संस्थागत सुशासनलाई मजबुत बनाउने अपेक्षा संस्थाले गरेको छ।

सहकारी क्षेत्रमा देखिएका कमजोरीहरूलाई सुधार गर्दै विश्वास पुनःस्थापना गर्ने दिशामा विकूको यो पहल अभियानमै नयाँ, सकारात्मक र अनुकरणीय अभ्यासका रूपमा हेरिएको छ। कर्मचारीलाई कर्तव्यनिष्ठ बनाउँदै संस्थागत संस्कृतिमै नैतिकता बसाल्ने यो अभियानले सहकारी आन्दोलनमा सुशासनको बलियो आधार तयार गर्ने विश्वास संस्थाले गरेको छ।
Advertisment