काठमाडौं : रिलायन्स स्पिनिङ मिल्सको बुक बिल्डिङ प्रक्रियामार्फत शेयर निष्कासन गर्ने क्रममा भएका काम/कारवाहीमाथि प्रश्न उठेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले औपचारिक छानविन सुरु गरेको छ। बोर्डको पुस ४ गते बसेको बैठकले यस सम्बन्धमा निष्पक्ष छानविन गर्न एक उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो।
बोर्डले बिनोद कुमार भट्टराईको संयोजकत्वमा बोर्ड सदस्यहरू आनन्द राज शर्मा वाग्ले र पिताम्बर भण्डारी सदस्यसहितको एक समिति गठन गरेको हो । समितिलाई आफ्नो अध्ययन पुरा गरी १५ दिनभित्र बोर्ड समक्ष प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ।
समितिलाई आवश्यकता अनुसार बाह्य विज्ञ वा अन्य सम्बन्धित व्यक्तिहरूलाई आमन्त्रित गर्ने विशेष अधिकार समेत दिइएको बोर्डले जनाएको छ।
रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रक्रियामा वित्तीय विवरणहरू पारदर्शी नभएको भन्दै लामो समयदेखि विवाद हुँदै आएको छ। नेपाल विद्युत प्राधिकरणलाई बुझाउनुपर्ने ‘डेडिकेटेड’ लाइनको करिब ७५ करोड ३६ लाख रुपैयाँ बक्यौता विवरणमा नदेखाएको आरोप छ ।
बोर्डले बुक बिल्डिङको मूल्य निर्धारण र प्रक्रियामा अपनाइएका विधिहरूको वैधता र अर्थ मन्त्रालय र सार्वजनिक लेखा समितिको चासो र निर्देशनको पालनाको विषयमा केन्द्रित रहेर छानविन समिति बनाएको हो ।
यसअघि वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरिसकेको यस कम्पनीको सर्वसाधारणतर्फको निष्कासन भने विवादका कारण स्थगित गरिएको थियो। हाल कम्पनीले प्राधिकरणको बक्यौता किस्ताबन्दीमा तिर्न थालेको भए तापनि, प्रक्रियागत त्रुटीहरूमाथि छानविन गर्न अर्थ मन्त्रालयले बोर्डलाई पत्राचार गरेको थियो।
Advertisment