Below Menu
Below Menu

जनउत्थान सहकारीको २०औँ महोत्सव सम्पन्न, शिक्षा-उत्पादन-समाजमा एकैसाथ सहयोग

जनउत्थान सहकारीको २०औँ महोत्सव सम्पन्न, शिक्षा-उत्पादन-समाजमा एकैसाथ सहयोग

रुपन्देही : जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो ‘२०औँ जनउत्थान महोत्सव २०८२’ शनिबार संस्थाका १० वटै सेवा केन्द्रहरूमा एकैसाथ सम्पन्न गरेको छ। संस्थाले शिक्षा, उत्पादन र सामाजिक उत्तरदायित्वलाई जोड्दै विभिन्न कार्यक्रमहरू गर्दै वार्षिकोत्सव मनाएको हो।

महोत्सवका क्रममा प्लस टु तथा स्नातक तहमा अध्ययनरत ८० जना विद्यार्थीलाई जनउत्थान छात्रवृत्ति स्वरूप प्रतिव्यक्ति ५ हजार रुपैयाँ वितरण गरिएको छ। यसबाट अध्ययनरत विद्यार्थीलाई आर्थिक सहजीकरण हुनुका साथै शैक्षिक निरन्तरतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उत्पादनमूलक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले ३० जना बाख्रापालक सदस्यलाई दुई वर्षका लागि निब्र्याज ऋण सहयोग स्वरूप प्रतिव्यक्ति २० हजार रुपैयाँ प्रदान गरिएको छ। यस सहयोगले ग्रामीण स्तरमा स्वरोजगार र आत्मनिर्भरतामा टेवा पुग्ने विश्वास लिइएको छ।

सामुदायिक विकासतर्फ केन्द्रित रहँदै सहकारीले ३१ वटा आमा समूह, युवा क्लब तथा टोल विकास संस्थालाई विभिन्न सामाजिक क्रियाकलाप सञ्चालनका लागि प्रतिसमूह ५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ।

त्यसैगरी, सबै सेवा केन्द्रमा ५/५ जना गरी जम्मा ५० जना सदस्यलाई ऋण कारोबारको आधारमा अधिकतम संरक्षित पूँजी कोष प्राप्त गरेको योगदानको कदरस्वरूप थर्मस पुरस्कार प्रदान गरिएको छ।

जेष्ठ शेयर सदस्यप्रतिको सम्मानस्वरूप ७० वर्ष उमेर नाघेका १ हजार ५१ जनालाई एक किलो मह, एक थान सल र कप प्रदान गर्दै सम्मान गरिएको छ।
सहकारी शिक्षालाई प्रभावकारी बनाउन सबै सेवा केन्द्रमा खुला सहकारी हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा प्रत्येक केन्द्रबाट १०/१० जना सहभागीलाई विशेष पुरस्कार प्रदान गरिएको छ। साथै, १०÷१० वटा आमा समूहबीच आमा समूहस्तरीय ¥यापिड फायर सहकारी हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरी जनउत्थान सहकारीसम्बन्धी चेतनामूलक प्रश्नहरू सोधिएका थिए।

महोत्सव अवधिमा १० वटै सेवा केन्द्रमा गरी कुल ८ लाख २१ हजार ५ सय ६८ रुपैयाँ बराबरका विभिन्न सामाजिक क्रियाकलापहरू सम्पन्न गरिएको सहकारीले जनाएको छ।

कार्यक्रमलाई थप आकर्षक बनाउन विविध सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक खेलहरू सञ्चालन गरिएका थिए। सहभागीहरूका लागि निशुल्क भाग्यशाली चिठ्ठा कार्यक्रममार्फत ४५ जनालाई राइस कुकर उपहार प्रदान गरिएको थियो।

जनउत्थान सहकारीको २०औँ महोत्सव आर्थिक कारोबारसँगै शिक्षा, उत्पादन र सामाजिक उत्तरदायित्वलाई एकै थलोमा जोड्ने अवसर बनेको सहभागीहरूको प्रतिक्रिया थियो।

Advertisment

थप समाचार