काठमाडौं : एनपिआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निश्काशन सम्बन्धि नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृती प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो ।
कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको यस एन.पि.आई. नारायणी सामुदाकि हस्पिटल लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएको छ भने संस्थापक समूह अन्तर्गतको ८० प्रतिशत शेयर कायम रहेको कम्पनीले जनाएको छ ।
थप सेवा विस्तारको लागि, निर्माणको अन्तिम चरणमा रहेको ४०० शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरि बनाइएको हस्पिटलका लागि थप पूँजीको आवश्यकता पर्नेभएकोले कम्पनीले सार्वजनिक निष्काशनमा जान लागेको कम्पनीका सञ्चालक चुडामणी खनालले जानकारी गराए ।
हस्पिटल सेवा र विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको एनपिआई नारायणी सामुदाकि हस्पिटल लिमिटेडको स्थापना वि.सं. २०६३ मा भएको र हाल यसको वार्षिक कारोवार १.१५ अर्ब रहेको जानकारी कम्पनीले जनाएको छ साथै हाल यस संस्थामा ४२५ भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् ।
आज भएको सो सम्झौतामा एनपिआई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडको तर्फबाट कम्पनीका सञ्चालक चुडामणी खनाल तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए ।
हस्ताक्षर समारोहमा निष्काशन कम्पनीको तर्फबाट कम्पनीको सञ्चालक विष्णु कुँवर तथा सञ्चालक निरज कुमार श्रेष्ठहरुको उपस्थिति रहेको थियो ।
Advertisment