काठमाडौं : चालु आर्थिक वर्षको पाँच महिनामा नेपालको वैदेशिक व्यापारको आकार बढेपनि व्यापार घाटाको अवस्था अझै भयावह देखिएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा साढे आठ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापारमा नेपालले छ खर्ब ४९ अर्ब ६८ करोड एक लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।
गत वर्षको तुलनामा व्यापार घाटा १०.५२ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा नेपालले पाँच खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
यस अवधिमा नेपालको वैदेशिक व्यापार २०.०७ प्रतिशतले बढेको छ । मंसिर मसातसम्म नेपालले आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा सात खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
साढे सात खर्बको आयात हुँदा निर्यातमा ५८ प्रतिशतको वृद्धि
विभागका अनुसार यस अवधिमा आयात र निर्यात दुवैमा सुधार देखिएको छ । पाँच महिनामा साढे सात खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको भने सवा एक खर्बको वस्तु तथा सेवा निर्यात भएको छ
मंसिरसम्ममा आयात १५.८३ प्रतिशत र निर्यात ५८.१७ प्रतिशतले बढेको छ । विभागका अनुसार यस अवधिमा सात खर्ब ६६ अर्ब १८ करोड ९१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा छ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
यस अवधिमा एक खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो ।
निर्यात वृद्धिले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको संकेत गरेको छ । यद्यपी निर्यातको उच्च वृद्धि दरले पनि व्यापार घाटा कम गर्न खासै योगदान पुर्याउन सकेको छैन । विलासी वस्तु र पेट्रोलियम पदार्थको बढ्दो आयातले गर्दा देशको शोधनान्तर स्थितिमा चाप परिरहेको छ ।
यस अवधिमा नेपालले १४८ देशसँगको वैदेशिक व्यापार गरेको छ । जसमध्ये २८ देशसँगको व्यापार नाफामा छ भने १२० देशसँगको व्यापार घाटामा रहेको छ ।
Advertisment