काठमाडौं : नेपाल धितोपत्र बोर्डको आईपीओ निष्कासनको पाइपलाइनमा तीन कम्पनी थपिएका छन् । सर्वसाधारणमा प्राथमिक शेयर निष्कासनका लागि नगरकोट रिसोर्ट, सारथी केवल इन्डष्ट्रीज, कालिन्चोक इन्भेष्टमेन्ट कम्पनीले निवेदन दिएका हुन्।
नगरकोट रिसोर्टले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर निष्काशनका लागि मङ्सिर १५ गते बोेर्डमा निवेदन दिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा शेयर जारी गर्न लागेको हो ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल र कर्पोरेट एडभाइजरीका लागि ज्योति क्यापिटल नियुक्त गरिएको छ।
यसैगरी, सारथी केवल इन्डष्ट्रीज लिमिटेडले पनि आईपीओ निष्काशन अनुमति माग्दै मङ्सिर ५ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ११ करोड ४५ लाख रुपैयाँ बराबरको ११ लाख ४५ हजार कित्ता शेयर निष्कासनको अनुमति माग गरेको हो।
उक्त शेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि सिटिजन्स क्यापिटल नियुक्त भएको छ।
सेबोनका अनुसार कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्दै पुस ३ गते बोर्डमा आवेदन दर्ता गरेको छ । कम्पनीले पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता शेयर जारी गर्न अनुमति माग गरेको छ।
कम्पनीको आईपीओ निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट लिमिटेड बिक्री प्रबन्धक नियुक्त गरिएको छ।
Advertisment