Below Menu
Below Menu

घट्यो इभी आयातको ग्राफः पाँच महिनामा ३८ सय युनिट भित्रिँदा, राजस्वमा २० प्रतिशतको गिरावट

घट्यो इभी आयातको ग्राफः पाँच महिनामा ३८ सय युनिट भित्रिँदा, राजस्वमा २० प्रतिशतको गिरावट

काठमाडौं : नेपालमा विद्युतीय सवारी साधन (इभी) गाडीको प्रयोग बढेपनि गत वर्षको तुलनामा आयातको तथ्यांक भने खुम्चिएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा तीन हजार ७९८ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् ।

यस अवधिमा सरकारले आठ अर्ब ९५ करोड ५१ लाख ४० हजार रुपैयाँ उक्त संख्यामा गाडी आयात गरेको हो । भन्सार विभागको तथ्यांकअनुसार विद्युतीय गाडीको आयातबाट पाँच अर्ब ५६ करोड ३३ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । 

उक्त राजस्व गत आवको सोही अवधिको तुलनामा २० प्रतिशतले कम हो । गत वर्ष सरकारले ११ अर्ब २७ करोड २१ लाख रुपैयाँ बराबरको चार हजार ६९७ युनिट इभी गाडी आयात गर्दा छ अर्ब ९६ करोड २८ लाख रुपैयाँ बराबरको राजस्व उठाएको छ । 

नेपालमा विश्वप्रसिद्ध ब्रान्डका ५० किलोवाटदेखि ३०० किलोवाटका विद्युतीय गाडी आयात हुने गरेका छन् । नेपाली बजारमा विशेष गरी मध्यम क्षमताका विद्युतीय गाडीको माग उच्च देखिएको छ ।

तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन् । यस सेग्मेन्टमा पाँच अर्ब ६० करोड ८६ लाख मूल्यका दुई हजार १६४ युनिट गाडी भित्रिएका छन् ।

सबैभन्दा धेरै विद्युतीय गाडी छिमेकी मुलुक चिनबाट आउने गरेको छ भने भारत, कोरिया, जर्मन, इन्डोनेसिया, अमेरिका लगायतका मुलुकहरूबाट पनि नेपालमा विद्युतीय सवारी आयात हुने गरेको छ ।

मंसिर मसान्तसम्म नेपालले ५० किलोवाटसम्मका दुई अर्ब सात करोड ३२ लाख मूल्य बराबरका एक हजार २१५ युनिट गाडी आयात गरेको छ । त्यस्तै १०१ देखि २०० किलोवाटसम्मका एक अर्ब २३ करोड ८१ लाख रुपैयाँ बराबरको ४१४ युनिट गाडी आयात भएका छन् । 

विभागका अनुसार यस अवधिमा २०१ देखि ३०० किलोवाटसम्मका तीन करोड ५१ लाख ३३ हजार रुपैयाँ बराबरका पाँच युनिट गाडी आयात भएका छन् । 

Advertisment

थप समाचार