टोकियो : विश्वकै ठूलो अटोमोबाइल निर्माता कम्पनी टोयोटा मोटर कर्पोरेसनको उत्पादन र बिक्रीमा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको नोभेम्बर महिनाको तथ्याङ्कअनुसार, अघिल्लो छ महिनादेखि निरन्तर बढिरहेको उत्पादनमा यसपटक ५.५ प्रतिशतले कमी आएको हो ।
नोभेम्बरमा टोयोटाको विश्वव्यापी उत्पादन ८ लाख २१ हजार ७२३ इकाइमा खुम्चिएको छ । मुख्यगरी चीनमा अनुदान कटौती र जापानभित्रको आन्तरिक उत्पादनमा आएको सुस्तताका कारण यो गिरावट देखिएको हो ।
कम्पनीका अनुसार, विदेशमा उत्पादन ३.४ प्रतिशतले घटेर पाँच लाख ६३ हजार ५४६ सवारीसाधनमा झरेको छ भने जापानभित्रको उत्पादन ९.७ प्रतिशतले घटेर दुई लाख ५८ हजार १७७ इकाइमा आएको छ ।
उच्च भन्सार शुल्कको चुनौतीका बाबजुद संयुक्त राज्य अमेरिकामा भने टोयोटाको उत्पादन ९.० प्रतिशतले बढेर एक लाख ७ हजार ९५३ इकाइ पुगेको छ । अमेरिकामा हाइब्रिड सवारीसाधनको उच्च मागले गर्दा त्यहाँको उत्पादन मजबुत देखिएको हो ।
उत्पादनसँगै टोयोटाको विश्वव्यापी बिक्री पनि २.२ प्रतिशतले घटेर नौ लाख ११ इकाइमा सीमित भएको छ । यो पनि करिब ११ महिनामा पहिलोपटक बिक्रीमा देखिएको गिरावट हो । बिक्री विवरणअनुसार, विदेशमा बिक्री २.६ प्रतिशतले घटेर सात लाख ६९ हजार ७८९ रहेको छ, भने जापानमा बिक्री ०.२ प्रतिशतले घटेर एक लाख ३० हजार २२२ इकाइमा आएको कम्पनीले जनाएको छ ।
टोयोटाको उत्पादन र बिक्रीमा भएको यो कमीले आगामी महिनाहरुमा विश्व अटोमोबाइल बजारको माग तथा आपूर्ति कस्तो रहनेछ भन्ने विषयमा ध्यानाकर्षण बढाएको छ ।
विश्लेषकहरूका अनुसार चीनमा सवारीसाधन खरिदमा सरकारले दिँदै आएको अनुदान कटौती हुनु र जापानमा केही प्राविधिक कारणले उद्योग सञ्चालनका दिनहरू घट्नु यसको मुख्य कारण मानिएको छ । साथै, अन्य जापानी अटो कम्पनीहरू (जस्तै होण्डा र निसान) को उत्पादनमा पनि यस महिना गिरावट देखिएको छ ।
Advertisment