काठमाडौं : नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ० ले आगामी पुस २३ गते पोखरामा एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ आयोजना गर्ने भएको छ ।
प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड कार्यक्रम पोखराको न्यूरोडस्थित पोखरा सभागृहमा हुने आइतबार पत्रकार सम्मेलन मार्फत मञ्चले जानकारी गराएको हो ।
यसअघि भदौ २९ गते अवार्डको २२औँ संस्करण आयोजना गर्ने तयारी पूरा भए पनि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण सिर्जित विषम परिस्थितिले कार्यक्रम स्थगित गर्नुपरेको थियो ।
आन्दोलनका क्रममा पहिल्यै तय गरिएको पोखरा इभेन्ट सेन्टर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि कार्यक्रम स्थलसहित अधिकांश तयारी पुनः शून्यबाट सुरु गर्नुपरेको मञ्चले जनाएको छ ।
कार्यक्रम स्थगित भएपछि होटल, कलाकार तथा विभिन्न पक्षसँग भएका सम्झौता रद्द हुन पुगेका थिए । यसले समय र आर्थिक दुवै रूपमा मञ्चलाई ठूलो असर पारेको भए पनि ती सबै चुनौतीलाई पार गर्दै नयाँ मितिमा अवार्ड आयोजना गर्न तयारी पूरा गरिएको महासचिव अञ्जन खड्काले जानकारी दिए ।
अवार्ड कार्यक्रमको अघिल्लो दिन पुस २२ गते पोखरामै एनएसजेएफ स्पोट्र्स समिट आयोजना गरिनेछ । दुई दिनसम्म चल्ने यी कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ ।
यस वर्षको अवार्डमा नयाँ प्रायोजक पनि थपिएका छन् । यती एयरलाइन्स ‘पावर्ड बाई’ सह–प्रायोजकका रूपमा जोडिएको छ । साथै रोकिएको पिपल्स च्वाइस अवार्डको भोटिङ प्रक्रिया आजैबाट सुरु गरिएको मञ्चले जनाएको छ ।
पिपल्स च्वाइस अवार्डका लागि विजय सिन्जाली ९उसु०, पूजा महतो ९क्रिकेट०, हिमाल सुनारी ९भलिबल०, रेखा पौडेल ९फुटबल० र इभाना थापा ९टेबल टेनिस० मनोनयनमा परेका छन् । यस्तै, नासा सेक्युरिटिज अवार्डका लागि पनि नयाँ प्रायोजक थपिएको छ ।
गोल्छा ग्रुपसँगको मुख्य प्रायोजक सम्झौता यथावत् रहनेछ भने पोखरा महानगरपालिकाले पनि अवार्डमा सहकार्य गर्ने भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग सहकार्यका लागि लिखित सम्झौता भइसकेको मञ्चले जनाएको छ ।
यसका अतिरिक्त सूर्य नेपाल प्रालि, भोटिङ पार्टनर आईएमई–खल्ती डिजिटल वालेट, केल्मी नेपाल, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, बागमती प्रदेश खेलकुद विकास परिषद, नेपाल पर्यटन बोर्ड तथा आईएमई हस्पिटालिटी पनि कार्यक्रमका पार्टनर रहेका छन् ।
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा १० विधामा अवार्ड प्रदान गरिनेछ । जसअन्तर्गत वर्षको उत्कृष्ट खेलाडी ९पुरुष र महिला०, वर्षको उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर समावेश छन् ।
वर्षको खेलाडी ९पुरुष र महिला०, पिपल्स च्वाइस, प्रशिक्षक तथा युवा गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ नगदसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
Advertisment