काठमाडौं : ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले CARE (Co-operative Assistance for Reliable Enterprises) कार्यक्रमको शुभारम्भ गरेको छ। संस्थाको २६ औँ र २७ औँ वार्षिक साधारण सभाबाट पारित केयर (CARE) कार्यक्रमको शुभारम्भ संस्थाको सेवक सेवा केन्द्र, बालाजुमा सदस्य विस्तारित मञ्च एवम् अन्तरक्रिया कार्यक्रममार्फत शुभारम्भ गरिएको हो।
कार्यक्रममा संस्थाको वर्तमान अवस्था, नियामकीय व्यवस्थामा आएका पछिल्ला परिवर्तन तथा त्यसले संस्था सञ्चालन र कारोबारमा पार्ने प्रभावबारे विस्तृत छलफल र अन्तरक्रिया समेत गरिएको थियो।
युवा समूहका सदस्यहरूले सुरु गर्ने स्टार्टअप व्यवसाय, प्राकृतिक प्रकोपलगायत विभिन्न कारणले सदस्य वा सदस्यको व्यवसायमा पूर्ण तथा आंशिक क्षति पुगेका अवस्थामा व्यवसाय पुनर्स्थापनाका लागि न्यून ब्याजदरमा कर्जा उपलब्ध गराउने उद्देश्यसहित CARE कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको औपचारिक शुभारम्भ संस्थाका सदस्य तथा समाजसेवी दीपक कुँवरले गरेका थिए।
संस्थाका अध्यक्ष श्यामकृष्ण घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष तथा संस्थाका सल्लाहकार शम्भु प्रसाद फुयालले आफ्नो अनुभव र धारणा व्यक्त गरेका थिए। त्यसैगरी, संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले संस्थाको वर्तमान अवस्था र केयर कार्यक्रमले समेट्ने क्षेत्रहरूबारे प्रस्तुतीकरण गरेका थिए।
केयर कार्यक्रमअन्तर्गत गत भाद्र २४ गते संस्थाको सेवा केन्द्र समेत रहेको ल्होत्से मलमा भएको आगलागीबाट व्यवसायमा पूर्ण तथा आंशिक क्षति भएका पीडित सदस्यहरूलाई ६ देखि ७ प्रतिशत ब्याजदरमा व्यवसाय पुनर्स्थापना कर्जा लगानी गर्ने निष्कर्ष निकालिएको छ।
यसअघि, २०८१ साल असोज १२ र १३ गते आएको बाढीबाट परिवारका सदस्य गुमाएका तथा सम्पूर्ण व्यवसाय नष्ट भएका दुई जना सदस्यलाई संस्थाले १ प्रतिशत ब्याजदरमा सदस्य पुनर्स्थापना कर्जा प्रदान गरेको थियो।
Advertisment