काठमाडौं : सहकारी विभागका नवनियुक्त रजिष्ट्रार सुशील ढकालले सहकारी क्षेत्रलाई व्यवस्थित र विश्वसनीय बनाउन देखिएका समस्या, वेथिति तथा सहकारी शिक्षामा देखिएको कमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने बताएका छन्।
वित्तीय पोस्टसँग संक्षिप्त कुराकानी गर्दै रजिष्ट्रार ढकालले सहकारीको विकास विना राष्ट्रको समग्र विकास सम्भव नहुने स्पष्ट पारे। उनले सहकारीलाई अर्थतन्त्रका तीन प्रमुख स्तम्भमध्ये एक महत्वपूर्ण स्तम्भको रूपमा रहेको सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र भरोसायोग्य बनाउन आवश्यक रहेको बताए।
रजिष्ट्रार ढकालले सहकारी क्षेत्रमा सुशासन कायम गराउने सवालमा विभाग दृढतापूर्वक लागि पर्ने स्पष्ट पारे। सहकारीका कारण पीडित बनेका सदस्यहरूलाई न्याय दिलाउन विभागले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे।
पारदर्शिता, जवाफदेहिता र प्रभावकारी नियमनमार्फत सहकारी क्षेत्रप्रतिको विश्वास पुनःस्थापना गर्नु नै विभागको प्रमुख प्राथमिकता रहने उनको भनाइ छ।
राष्ट्रपतिको कार्यालयबाट सरुवा भई विभाग आएका ढकालले बिहीबार एक कार्यक्रमको बीच पद बहाली गरेका थिए। काठमाडौं सिफलका स्थायी बासिन्दा ढकाल तत्कालिन डिभिजन सहकारी कार्यालयमा समेत काम गरेको अनुभव छ ।
ढकाल नेपाल सरकारले २०८० मा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा गठन गरेको सहकारी क्षेत्र सुधार सुझाव कार्यदलका सदस्य समेत थिए।
Advertisment