काठमाडौं : चितवन मेडिकल कलेज प्राइभेट लिमिटेडले एकै आर्थिक वर्षमा साढे दुई अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष (सन् २०२५) मा दुई अर्ब ५१ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा करिब २७ प्रतिशतले बढी हो ।
कम्पनीका अनुसार अघिल्लो वर्ष सन् २०२४ मा एक अर्ब ९७ करोड ४० लाख रुपैयाँको कारोबार भएको थियो भने सन् २०२३ मा एक अर्ब ६९ करोड ७० लाख रुपैयाँको व्यापार भएको छ ।
त्यस्तै सन् २०२२ मा कम्पनीले २ अर्ब ७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । पछिल्ला वर्षहरूमा कारोबारमा देखिएको उतारचढावबीच २०२५ मा उल्लेखनीय सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामै कम्पनीले ८६ करोड ४० लाख रुपैयाँको कारोबार गरिसकेको कम्पनीले जनाएको छ ।
कम्पनीले कारोबार वृद्धि हुनुको प्रमुख कारण बिरामी भर्नाको संख्या बढ्नु रहेको जनाएको छ । विशेषगरी सन् २०२४ को जुलाईदेखि सरकारी स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि अस्पतालमा सेवाग्राहीको चाप बढेको कम्पनीको भनाइ छ ।
चितवन मेडिकल कलेजले सन् २०२३ देखि क्यान्सरसम्बन्धी विशेष उपचार सेवाको व्यवसायिक कारोबार सुरु गरेको थियो । क्यान्सर उपचारका लागि कम्पनीले एक अर्ब १२ करोड १० लाख रुपैयाँको लगानीमा अत्याधुनिक अस्पताल निर्माण गरेको हो । यस परियोजनामा कम्पनीको लगानी अनुपात ७०ः३० रहेको छ ।
यससँगै अस्पतालभित्रै फार्मेसी सेवा सञ्चालनमा ल्याइएकाले पनि आम्दानी बढ्न सहयोग पुगेको कम्पनीले जनाएको छ । क्यान्सर उपचार सेवा र फार्मेसी सञ्चालनपछि अस्पतालको समग्र सेवाग्राही संख्या तथा औसत आम्दानी दुवैमा वृद्धि भएको देखिएको हो ।
प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीको सञ्चालन नाफा सन् २०२४ मा ३०.०४ प्रतिशत रहेको थियो भने २०२५ मा २९.३० प्रतिशत कायम भएको छ । यद्यपि नाफा प्रतिशतमा सामान्य गिरावट देखिए पनि कुल कारोबार वृद्धिका कारण नाफाको परिमाण सन्तोषजनक रहेको छ ।
सन् २०२२ मा कम्पनीको पीबीआईएलटीडी मार्जिन (ब्याज भाडा, मूल्य ह्रास र करअघिको नाफा) ३३.२९ प्रतिशत रहेको थियो भने २०२३ मा घटेर २५.२६ प्रतिशतमा सीमित भएको थियो । पछिल्ला दुई वर्षमा भने मार्जिन स्थिर हुँदै गएको देखिन्छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ३ अर्ब ३ करोड २३ लाख रुपैयाँको रेटिङ गराएको छ । यसअन्तर्गत दीर्घकालीन कर्जाका लागि २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६० करोड ५० लाख रुपैयाँ रहेको छ ।
वित्तीय तथ्यांकअनुसार कम्पनीको ओभरअल गियरिङ सन् २०२२ मा १.४८ गुणा रहेकोमा २०२५ मा बढेर १.९७ गुणा पुगेको छ । यस्तै, ब्याज तिर्ने क्षमता सन् २०२५ मा ४.३७ गुणा पुगेको छ, जुन सन् २०२३ को २.५४ गुणाको तुलनामा सुधारिएको अवस्था हो । यसले कम्पनीको कर्जा व्यवस्थापन क्षमता सन्तोषजनक रहेको देखिएको छ ।
हाल कम्पनीले कुल ७५० शय्या क्षमतामध्ये ५३७ शय्याबाट सेवा प्रदान गरिरहेको छ । चितवन मेडिकल कलेजले डेन्टिस्ट्री, फरेन्सिक मेडिसिन, अप्थाल्मोलोजी, ओरल एन्ड म्याक्सिलोफेसियल सर्जरी, प्याथोलोजी, अर्थोडोन्टिक्स, पेडोडोन्टिक्स, रेडियो डाइग्नोसिस, सर्जरी अन्कोलोजीसहित विभिन्न विशिष्टीकृत स्वास्थ्य सेवा दिँदै आएको छ ।
स्वास्थ्य सेवासँगै कम्पनीले मेडिकल शिक्षामा पनि उल्लेखनीय योगदान दिँदै आएको छ । हाल कलेजले १४ वटा विभिन्न मेडिकल तथा स्वास्थ्यसम्बन्धी कोर्सहरू सञ्चालन गरिरहेको छ ।
कम्पनीका अनुसार गत आर्थिक वर्षमा कुल आम्दानीमध्ये ६१ प्रतिशत अस्पताल सेवाबाट आएको छ भने ३१ प्रतिशत आम्दानी मेडिकल कलेजबाट प्राप्त भएको छ । बाँकी आम्दानी अन्य सहायक सेवाबाट आएको रेटिङ प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२४ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको चितवन मेडिकल कलेज हाल अध्यक्ष हरिशचन्द्र न्यौपानेको नेतृत्वमा सञ्चालन भइरहेको छ । स्वास्थ्य सेवा र मेडिकल शिक्षाको संयोजन, क्यान्सरजस्ता विशिष्टीकृत सेवामा गरिएको ठूलो लगानी तथा स्वास्थ्य बिमाको विस्तारले आगामी दिनमा पनि कम्पनीको कारोबार र सेवाको दायरा थप विस्तार हुने अपेक्षा गरिएको छ ।
Advertisment