Below Menu
Below Menu

देउराली सहकारी घोटाला: दुई अर्ब ६८ करोड बिगो दाबी, अध्यक्ष रविन्द्रसहित तीन जनाविरुद्ध मुद्दा

देउराली सहकारी घोटाला: दुई अर्ब ६८ करोड बिगो दाबी, अध्यक्ष रविन्द्रसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरी अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा सहकारीका अध्यक्ष रविन्द्र चौलागाई, उनकी पत्नी पुजा खत्री र राजेन्द्र खत्रीविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।  

विभागका अनुसार सहकारीको केन्द्रीय तथा शाखा कार्यालयमार्फत संकलित बचत रकम योजनाबद्ध रूपमा अपचलन गरी सम्पत्ति शुद्धीकरण गरिएको पुष्टि भएपछि उनीहरूविरुद्ध २ अर्ब ६८ करोड ५१ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै अभियोगपत्र दायर गरिएको हो।

प्रहरी प्रधान कार्यालय अन्तर्गत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट प्राप्त पत्र तथा पीडित बचतकर्ताहरूको उजुरीका आधारमा गरिएको अनुसन्धानबाट सातदोबाटोस्थित केन्द्रीय कार्यालयसहित न्युरोड (काठमाडौं) र भक्तपुर शाखाबाट ठूलो परिमाणमा बचत रकम अपचलन भएको विभागले जनाएको छ ।

अनुसन्धानका क्रममा अपचलन गरिएको रकम काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र झापा लगायत जिल्लामा घडेरी तथा जग्गा खरिदमा प्रयोग गरिएको, साथै विभिन्न कम्पनी स्थापना गरी लगानी गरिएको देखिएको विभागको निष्कर्ष छ । सहकारीमा जम्मा भएको बचत रकम व्यक्तिगत फाइदाका लागि प्रयोग गरी अवैध सम्पत्ति आर्जन गरिएको प्रमाण फेला परेको विभागले जनाएको छ ।

विभागका अनुसार सहकारीका अध्यक्ष रविन्द्र चौलागाई र उनकी पत्नी पूजा खत्री सूचक संस्था मानिने देउराली सहकारीमै क्रमशः अध्यक्ष र उपाध्यक्ष पदमा रही प्रत्यक्ष रूपमा कसुरमा संलग्न देखिएकाले उनीहरूमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम थप सजायको माग गरिएको छ ।

यस्तै, अर्का प्रतिवादी मनोज भण्डारीविरुद्ध पनि ऐनको दफा ३ को उपदफा (२) र (३) बमोजिमको कसुरमा मुद्दा दायर गरिएको छ । भण्डारीको नाममा रहेको चल–अचल सम्पत्ति समेत जफत गर्न मागदाबी लिइएको विभागले जानकारी दिएको छ।


 

Advertisment

थप समाचार