Below Menu
Below Menu

जिल्ला बचत संघ मकवानपुरले मनायो २१औं वार्षिकोत्सव, विभिन्न विधामा सम्मान तथा पुरस्कार

जिल्ला बचत संघ मकवानपुरले मनायो २१औं वार्षिकोत्सव, विभिन्न विधामा सम्मान तथा पुरस्कार

मकवानपुर : जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरले २१औं वार्षिकोत्सव शुक्रबार भव्य समारोहको बीच मनाएको छ । ​`साँस्कृतिक विविधता नेपालीको पहिचान, आर्थिक, सामाजिक, साँस्कृतिक उन्नयनमा सहकारी अभियान´ भन्ने नाराका साथ  विशेष साँस्कृतिक कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो।

संघको कार्यालय परिसरमै सम्पन्न वार्षिकोत्सवमा सहकारी संघ तथा प्रारम्भिक सहकारीका प्रतिनिधि आफ्नो मौलिक जातीय भेषभूषामा सहभागी भएका थिए । वार्षिकोत्सवको अवसरमा संघले उत्कृष्ट सहकारी र उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।

संघले यस वर्ष उत्कृष्ट महिला बचत तथा ऋण सहकारी (साकोस) को रुपमा हेटौँडा–१२ स्थित महिला सेवा साकोसलाई सम्मान गरेको छ । त्यस्तै मिश्रित साकोसतर्फ हेटौंडा–१५ को जनचेतना साकोसलाई सम्मान गरेको छ ।

संघले सहकारी अभियानकर्मी राधा सिन्तान र भोजमान श्रेष्ठलाई सम्मान गरेको छ । उत्कृष्ट कर्मचारीतर्फ हेटौँडा–१५ स्थित महिला जनशक्ति साकोसका व्यवस्थापक माया तामाङ र हेटौँडा–५ स्थित संजीवनी साकोसका व्यवस्थापक प्रकाश बहादुर खनाल सम्मान गरेको छ।

संघले उत्कृष्ट दैनिक कारोबार गर्ने हेटौँडा–२ स्थित गणपति साकोस, २० करोड भन्दा बढी बचत गर्ने हेटौँडा–६ स्थित जनकल्याण साकोस, ऋण परिचालन गर्ने थाहा–६ स्थित बज्रबाराही साकोस र सर्वाधिक शेयर खरिद गर्ने हेटौँडा–१३ स्थित महिला मिलन साकोसलाई सम्मान गरेको छ । 

त्यस्तै ७ करोडदेखि २० करोड सम्पति भएका सहकारीमध्ये सर्वाधिक बचत जम्मा गर्ने मकवानपुरगढी–५ स्थित महिला कल्याण साकोस, ऋण परिचालन गर्ने हेटौँडा–२ स्थित प्रतिफल साकोस र सर्वाधिक शेयर खरिद गर्ने मनहरी–८ स्थित दिव्यज्योति महिला साकोसलाई सम्मान गरेको छ।

यस्तै ७ करोडसम्म सम्पति भएका सहकारीहरु मध्ये सर्वाधिक बचत गर्ने भीमफेदी–७ स्थित सृजनशील महिला साकोस, ऋण परिचालन गर्ने थाहा–२ स्थित पाथीभरा साकोस र सर्वाधिक शेयर खरिद गर्ने बकैया–५ स्थित पासाङ ल्हामु महिला विकास साकोसलाई सम्मान गरेको छ।

कार्यक्रममा संघका सदस्य सहकारीबाट प्रतिनिधित्व गर्दै उपस्थित भएका व्यक्तित्वहरुले आफ्नै मौलिक जातीय पहिरनमा सजिएका थिए । यस्तै साँस्कृतिक भेषभुषामा आबद्ध भएकाहरुमध्ये १० जना सहभागीलाई पुरस्कृत समेत गरिएको थियो । 

वार्षिकोत्सवको अवसरमा चेपाङ, गुरुङ, मगर, नेवारी, थारु, तामाङ, माझी भाषाका गीतसँगै राष्ट्रिय तथा लोक गीत, सहकारी गीतमा नृत्य गरेका थिए । कार्यक्रममा चेपाङ समुदायबाट बाट पहिलो गायक रबिन चेपाङले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

संघकी अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा जिल्ला बचत संघका सल्लाहकार बद्रीप्रसाद लम्साल, मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटा, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, संघका निवर्तमान अध्यक्ष राधा सिन्तान, हेटौँडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख महेन्द्र चापागाई, राष्ट्रिय सहकारी बैंकका प्रमुख समीर श्रेष्ठको आतिथ्यता थियो ।

१ सय २७ वटा सहकारी सदस्य रहेको संघको सेयर पुँजी ४ करोड ७२ लाख ८० हजार रुपैयाँ रहेको छ । १५ वटा सहकारी संस्थालाई ६ करोड ७९ लाख १५ हजार रुपैयाँ ऋण लगानी गरेको संघसँग १ अर्ब १३ करोड ३३ लाख रुपैयाँ बचत रहेको छ । आफ्नै स्वामित्वको भवनमा संघले व्यवस्थित कार्यालय सञ्चालन गरेको छ ।

यसैबीच, वार्षिकोत्सवको अवसरमा शुक्रबार बिहान रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । संघकै कार्यालय परिसरमा भएको कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् ।

Advertisment