२०औं स्थापना दिवस तथा विस्तारित मञ्च सम्पन्न
काठमाडौं : सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको २०औं वर्षमा प्रवेश गरेको छ । २०६३ पौष १९ गते २६ जना सदस्य र २६ हजार शेयर पुँजीबाट सुरु भएको सहयात्री साकोस आज ४ हजार २ सय २१ जना सेयर सदस्य र १ हजार ८ सय ५५ जना बाल बचतकर्ताको ‘सहयात्री’ बनेको छ।
संस्थाले शनिबार २०औं स्थापना दिवस तथा विस्तारित मञ्च राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माको प्रमुख आतिथ्यतामा भव्य रुपमा मनाएको छ।
संस्थाका अध्यक्ष खेमराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो सत्रमा संस्थाका नियमित गतिविधि, नीति तथा कार्यविधि, रणनीतिक योजना, चालु वार्षिक कार्यक्रम तथा सदस्यहरूका अपेक्षा र सुझावमाथि प्रस्तुति, छलफल र निर्णयसहित कार्यक्रम सम्पन्न गरिएको थियो।
त्यसैगरी दोस्रो सत्रमा उत्प्रेरक व्यक्तित्व तथा पूर्व राजदूत महेश दाहालले महिला सशक्तिकरण र उद्यमशीलता विषयमा विशेष प्रस्तुति प्रस्तुत गर्दै सदस्यहरूलाई स्वावलम्बी तथा व्यवसायीक बन्न सहकारीले खेल्नुपर्ने भूमिका र सदस्यको इच्छाशक्तिबीच समन्वय आवश्यक हुने विषयमा प्रभावकारी ढंगले प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रमको अन्तिम सत्रमा संस्थाको प्रगतिमा योगदान पुर्याउने सदस्यहरू, अग्रज सदस्यहरू र विशेष योगदान गर्ने सदस्यहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो। सो अवसरमा नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य तथा संस्थाका सेयर सदस्य शारदा गुरुङ र उच्च अदालत पाटन बारका अध्यक्ष तथा संस्थाका संस्थापक पूर्व सञ्चालक विदुर ढुंगानालाई सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको थियो।
कार्यक्रममा पाँच जना बचतकर्तालाई गिटारसहित पुरस्कृत गरियो भने संस्थाका उत्कृष्ट कर्मचारीका रूपमा सहायक प्रशासन अधिकृत गीता पौडेललाई सम्मान प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष शर्माले काठमाडौंको पहिलो इजाजतपत्र प्राप्त संस्थाका रूपमा बधाई दिँदै सदस्यहरूलाई आफू आबद्ध संस्थाको नियमित निगरानी गर्न, वित्तीय साक्षर बन्न, तालिम तथा सूचनाको हक उपयोग गर्न र सुशासनयुक्त सहकारीका लागि प्राधिकरणले जारी गरेका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरे।
संस्थाका सहायक लेखा अधिकृत सीता बास्कोटाले सञ्चालन गरेको कार्यक्रममा लोक गायिका मञ्जु गौतमको सांगीतिक प्रस्तुतिसहित पुरस्कार वितरण र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिँदा कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भएको थियो।
यस्तो छ संस्थाको वित्तीय अवस्था
संस्थामा आवधिक बचत (मुद्दती प्रकृतिको बचत) को हिस्सा कुल बचतको करिब १३ प्रतिशत मात्रै छ। यस्तो बचतलाई १० प्रतिशतको सीमाभित्र राख्ने प्रयास संस्थाले गरेको छ । पाँच वर्ष वा सोभन्दा बढी अवधिको नियमित बचत कुल बचतको करिब ७२ प्रतिशत छ । नकमाउने खालका सम्पत्तिहरू ५ प्रतिशतभन्दा कम छन् भने पुँजीकोष अनुपात १९ प्रतिशतभन्दा बढी रहेको संस्थाकी व्यवस्थापक जुना डाँगीले जानकारी दिईन।
यी सूचकहरूले संस्थामा रहेको बचत सुरक्षित रहेको र संस्थाको जोखिम स्तर न्यून रहेको देखाउँछ। संस्था नाफामूलकभन्दा पनि सेवामूलक हुनुपर्छ भन्ने अवधारणालाई आत्मसात गर्दै चालु आर्थिक वर्षबाट प्रति सदस्य अधिकतम सेयर रकम २० हजार रुपैयाँ कायम गरिएको संस्थाका अध्यक्ष सुवेदीले बताए। तोकिएको सीमाभन्दा बढी सेयर रकम रहेको सदस्यको आवधिक वा व्यक्तिगत बचत खातामा रकमान्तर गरिएको अध्यक्ष सुवेदीले बताए। यो नीतिबाबाट आगामी दिनमा संस्था नाफा आर्जनभन्दा बढी सेवा प्रवाहमा केन्द्रित हुने उनको भनाई छ।
२०८२ मंसिर मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको सेयर पुँजी ४ करोड ३४ लाख २१ हजार पाँच सय रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा १ करोड ४१ लाख, अन्य कोषमा ६२ लाख, बचत रकम २७ करोड ७३ लाख, बाह्य ऋण ७१ लाख, लगानी ३० करोड १८ लाख रहेको छ ।
संस्थाको कुल सम्पत्ति ३७ करोड २३ लाख रहेको छ । संस्थामा ४ हजार २ सय २१ जना सदस्य र १ हजार ८ सय ५५ जना बाल बचतकर्ता रहेका छन् । संस्थाबाट २ हजार १४ जनाले ऋण लिएका छन् ।
Advertisment