काठमाडौं : सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रवर्द्धक रहेको सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एक अर्बको चौथो बन्दमुखी योजना “सिटिजन्स सन्तुलित योजना” मा मागभन्दा २५ प्रतिशत बढी आवेदन परेको छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भई यस योजनाको सार्वजनिक निष्कासन तथा इकाई बिक्री पौष ४ गतेदेखि पौष १८ गतेसम्म खुला गरिएको थियो। सो अवधिमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट कुल एक अर्ब २५ करोडभन्दा बढी, अर्थात् मागभन्दा करिब २५ प्रतिशत बढी रकमको आवेदन परेको हो ।
योजनाको निष्कासनसँगै “सिटिजन्स सन्तुलित योजना” बढी आवेदन प्राप्त गर्न सफल म्युचुअल फण्डहरूमध्ये एक बन्न सफल भएको छ। योजनाप्रति लगानीकर्ताहरूको व्यापक आकर्षण र उल्लेखनीय सहभागिताले सिटिजन्स क्यापिटल लिमिटेडलाई नेपालको पूँजी बजारमा दक्ष, व्यावसायिक तथा विश्वसनीय संस्थाका रूपमा स्थापित गराएको स्पष्ट देखिन्छ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटल लिमिटेडमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ। कम्पनीका अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् ।
सिटिजन्स क्यापिटल लिमिटेडले योजना व्यवस्थापन तथा डिपोजिटरी सेवा, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभूति, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धन, शेयर रजिष्ट्रार सेवा तथा संस्थागत परामर्श सेवा जस्ता विविध सेवाहरू प्रदान गर्दै आइरहेको छ।
कम्पनीले आगामी दिनहरूमा पनि पारदर्शिता, सुशासन र लगानी जोखिम व्यवस्थापनमा निरन्तर सुधार गर्दै प्रविधिमैत्री तथा लगानीमैत्री सेवामार्फत लगानीकर्ताहरूलाई विश्वसनीय र प्रतिस्पर्धी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, निकट भविष्यमा विभिन्न प्रकृतिका सामूहिक लगानी कोषका नयाँ योजनाहरू सञ्चालन गर्नुका साथै हाल सञ्चालनमा रहेका योजनाहरूमा उच्च प्रतिफल सुनिश्चित गर्ने उद्देश्यका साथ कार्यरत रहने जनाएको छ।
Advertisment