काठमाडौं : क्रियाशील आर्थिक पत्रकारहरूको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को संयुक्त आयोजनामा कर तथा वित्तीय विवरण रिपोर्टिङ सम्बन्धी एकदिने अभिमुखीकरण तालिम कार्यक्रम बुधबार काठमाडौँमा सम्पन्न भएको छ।
आर्थिक तथा वित्तीय विषयमा समाचार लेख्ने पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा आइक्यानका परिषद् सदस्य हेमकुमार काफ्लेले कर प्रणाली, वित्तीय विवरणको संरचना तथा ती विवरणलाई समाचारमा कसरी सही, सन्तुलित र जिम्मेवार रूपमा प्रयोग गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए।
तालिमका क्रममा काफ्लेले कर र वित्तीय विवरण जटिल विषय भए पनि आधारभूत अवधारणा स्पष्ट रूपमा बुझेर रिपोर्टिङ गर्न सके आम पाठकलाई सहज रूपमा बुझिने समाचार तयार गर्न सकिने बताए। तथ्यको गहिरो अध्ययन नगरी गरिने रिपोर्टिङले गलत सन्देश प्रवाह हुन सक्ने भन्दै उनले पत्रकारलाई विशेष सतर्कता अपनाउन आग्रह गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै आइक्यानका अध्यक्ष नीलबहादुर सारु मगरले तथ्यमा आधारित र विषयवस्तु बुझेर लेखिएका समाचारले समाजमा सकारात्मक प्रभाव पार्ने बताए। कर, लेखा तथा वित्तीय विवरणजस्ता संवेदनशील विषयमा सही सूचना प्रवाह आवश्यक रहेको उल्लेख गर्दै गलत व्याख्या वा अपूर्ण जानकारीले नीति, व्यवसाय र सर्वसाधारणमा भ्रम सिर्जना हुन सक्ने उनको भनाइ थियो। आर्थिक पत्रकारिता सशक्त हुँदा समग्र आर्थिक प्रणालीप्रति नागरिकको विश्वास बढ्ने उनले बताए।
त्यस्तै आइक्यानका उपाध्यक्ष आनन्दराज शर्मा वाग्लेले तालिम आइक्यान र सञ्चारकर्मी दुवैका लागि उपयोगी रहेको बताए। तालिमबाट प्राप्त ज्ञान आगामी दिनमा पत्रकारहरूले लेख्ने समाचारमा तथ्यपरकता र सन्तुलित विश्लेषणका रूपमा देखिने विश्वास उनले व्यक्त गरे। यस्ता सहकार्यले लेखा पेशा र सञ्चार क्षेत्रबीचको दूरी क्रमशः घट्दै जाने उनको धारणा थियो।
नाफिजकी अध्यक्ष मेनुका कर्कीले यस्ता तालिम कार्यक्रमले नाफिज सदस्यहरूको व्यावसायिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्। सदस्यहरूको क्षमता विकास गर्नु नै नाफिजको मूल उद्देश्य रहेको उल्लेख गर्दै उनले सदस्यहरूको सुझावका आधारमा आगामी दिनमा पनि यस्तै खालका तालिम तथा अभिमुखीकरण कार्यक्रम निरन्तर आयोजना गरिने प्रतिबद्धता जनाइन्।
कार्यक्रममा सहभागी नाफिज सदस्यहरूले तालिमबाट नयाँ र व्यवहारिक ज्ञान प्राप्त गरेको प्रतिक्रिया दिएका थिए। प्राप्त ज्ञान र सीपलाई आफू आवद्ध सञ्चार संस्थामा कार्यान्वयन गर्दै आगामी दिनमा अझ जिम्मेवार, तथ्यपरक र सन्तुलित आर्थिक समाचार लेख्ने उनीहरूको भनाई थियो ।
Advertisment