Below Menu
Below Menu

यशोदा फुड्सको कारोबार साढे सात अर्ब नाघ्यो, नाफा मार्जिन र श्रमिकका चुनौति भने बढ्दै 

यशोदा फुड्सको कारोबार साढे सात अर्ब नाघ्यो, नाफा मार्जिन र श्रमिकका चुनौति भने बढ्दै 

काठमाडौं : यशोदा फुड्स प्राइभेट लिमिटेडले सन् २०२५ मा उल्लेखनीय वित्तीय प्रगति गर्दै साढे सात अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । 

केयर रेटिङ नेपालले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०२५ मा कम्पनीले सात अर्ब ६८ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन सन् २०२४ को तुलनामा ३१.०१ प्रतिशत अर्थात एक अर्ब ८२ करोड रुपैयाँले बढी हो  । 

यसअघि सन् २०२४ मा कम्पनीको कारोबार ५ अर्ब ८६ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने सन् २०२३ मा चार अर्ब ९५ करोड ५० लाख रुपैयाँ रहेको थियो । पछिल्ला तीन वर्षमा यशोदा फुड्सको आम्दानीमा निरन्तर बढ्दो क्रममा रहेको छ । 

यद्यपि कारोबार बढेपनि सञ्चालन नाफाको मार्जिनमा भने गिरावट आएको  छ । कम्पनीको पीबीआईएलडीटी मार्जिन (ब्याज भाडा, मूल्य ह्रास र करअघिको नाफा) २०२३ मा १०.६७ प्रतिशत र २०२४ मा ११.४३ प्रतिशत रहेकोमा २०२५ मा घटेर ७.४३ प्रतिशतमा झरेको छ । कच्चा पदार्थको लागत वृद्धि, बढ्दो ब्याज खर्च र प्रतिस्पर्धा बजारका कारण मार्जिन घटेको उल्लेख छ । 

कम्पनीको वित्तीय संरचना समग्रमा सन्तुलित देखिएको छ । कुल ऋण अनुपात २०२३ मा ०.१२ गुणा रहेकोमा २०२४ मा ०.४९ गुणा पुगेको थियो भने २०२५ मा ०.४६ गुणामा सीमित भएको छ ।

कम्पनीको ब्याज तिर्ने क्षमता २०२४ मा १८ गुणा रहेकोमा २०२५ मा घटेर ८.३९ गुणामा झरेको छ । यद्यपि ८ गुणाभन्दा माथिको व्याज तिर्ने क्षमता अझै सुरक्षित स्तरमै रहेको देखिएको छ । कम्पनीको चालु अनुपात १.५६ गुणा रहेको छ । 

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल दुई अर्ब २० करोड ८३ लाख रुपैयाँको रेटिङ गराएको छ । यसअन्तर्गत दीर्घकालीन कर्जाका लागि ५० करोड ८० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि एक अर्ब ७० करोड तीन लाख रुपैयाँ रहेको छ ।
मर्जरपछि उत्पादन क्षमता विस्तार 

सन् २०१७ मे ७ मा स्थापना भएको यशोदा फुड्सको उत्पादन केन्द्र रुपन्देही जिल्लाको तिलोत्तमा–१५ मा अवस्थित छ । कम्पनीले सन् २०२४ जुलाई १५ मा आफ्नो पूर्ण स्वामित्वको सहायक कम्पनी यशोदा नुडल्स एन्ड स्न्याक्स प्राइभेट लिमिटेडसँग मर्जर प्रक्रिया पूरा गरेपछि उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि भएको छ । कम्पनीको अध्यक्षमा चुन्नाप्रसाद शर्मा रहेका छन् । 

मर्जरपछि चाउचाउ खण्डको वार्षिक जडित क्षमता ३० हजार मेट्रिक टनबाट बढेर ४२ हजार मेट्रिक टन पुगेको छ भने स्न्याक्स खण्डको क्षमता ९ सय मेट्रिक टनबाट बढेर ४ हजार ५ सय मेट्रिक टन पुगेको छ । यसले कम्पनीलाई आन्तरिक माग पूरा गर्न मात्र नभई निर्यात बजारमा समेत विस्तार गर्न सहयोग पुर्याएको छ ।

यशोदा फुड्सको वितरण सञ्जाल देशभर फैलिएको छ । हाल कम्पनीसँग करिब ३०० अधिकृत वितरक रहेका छन्, जसले सबै प्रदेश र प्रमुख सहरहरू समेटेका छन् । ‘करेन्ट’ ब्रान्ड नेपाली बजारमा विशेषगरी ‘स्पाइसी नुडल्स’ सेग्मेन्टमा युवामाझ लोकप्रिय बन्दै गएको छ ।

कम्पनीले भारतसहित अन्य मुलुकमा निर्यात विस्तार गर्दै आएको छ । आर्थिक वर्ष २०२५ मा निर्यातले कुल आम्दानीको करिब १२ प्रतिशत योगदान पुर्याएको छ ।

मजदुर आन्दोलनले कम्पनी विवादमा

व्यापारिक हिसाबले निरन्तर उकालो लागिरहेको यशोदा फुड्स हाल श्रमिक आन्दोलनका कारण विवादमा समेत तानिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–६, बीरपुरस्थित करेन्ट चाउचाउ उत्पादन केन्द्रमा कार्यरत मजदुरहरू श्रम ऐनअनुसारका सुविधा नपाएको आरोप लगाउँदै गत भदौ १९ गते आन्दोलन गरेका थिए ।  

आन्दोलनरत श्रमिकहरूले उचित पारिश्रमिक नपाएको, समयमै तलब नदिइएको, जातीय तथा लैङ्गिक विभेद भएको, महिलामैत्री सुविधा नपाएको र दुर्घटनाको उपचार खर्चसमेत उद्योगले बेवास्ता गरेको गुनासो गरेका छन् । रात्रीकालीन ड्युटीको भत्ता नदिइएको समेत उनीहरुको आरोप छ । 

श्रमिकहरूले उद्योगको मूल गेटमै धर्ना र नाराबाजी गरेपनि व्यवस्थापन पक्षले मागप्रति गम्भीरता नदेखाएको र उल्टै आन्दोलनरत कामदारलाई ठेक्का सम्झौता भंग गर्ने धम्की दिएको दाबी गरेका छन् । स्थानीयस्तरमा पनि यशोदा फुड्समाथि श्रमिक अधिकार बेवास्ता गरेको आरोप बढ्दै गएको छ ।  

तसर्थ आम्दानी र उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि गरेको यशोदा फुड्सका लागि श्रमिक सन्तुष्टि, लागत नियन्त्रण र मार्जिन दबाबले थप चुनौति बनेको छ ।  
 

Advertisment

थप समाचार