काठमाडौं : सेनिटरी प्याड, डायपर तथा मास्क उत्पादन गर्दै आएको जस्मिन हाइजिन प्रोडक्ट्स प्राइभेट लिमिटेड (जेएचपी) ले सन् २०२५ मा ६६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। जुन सन् २०२४ को तुलनामा १५ प्रतिशतले कम हो ।
केयर रेटिङका अनुसार कम्पनीले सन् २०२४ मा ७७ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०२३ मा ५९ करोड रुपैयाँको कारोबार भएको थियो। तीव्र बजार प्रतिस्पर्धा तथा उच्च ब्याजदरका कारण पछिल्ला वर्षहरूमा कम्पनीको कारोबारमा उतार–चढाव देखिएको छ।
यद्यपि, कच्चा पदार्थको मूल्य घटेका कारण कम्पनीको सञ्चालन नाफा मार्जिन ७.२० प्रतिशतबाट बढेर ९.०७ प्रतिशत पुगेको छ। सन् २०२३ मा भने सञ्चालन नाफा मार्जिन ११.५८ प्रतिशत रहेको थियो। सञ्चालन नाफामा सुधार भए पनि उच्च वित्तीय खर्चका कारण कम्पनीको शुद्ध नाफा मार्जिन ०.५९ प्रतिशतबाट घटेर ०.४७ प्रतिशतमा सीमित भएको छ।
कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि कुल ५७ करोड ९० लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ। यसमध्ये दीर्घकालीन कर्जा ७ करोड ९० लाख रुपैयाँ र अल्पकालीन कर्जा ५० करोड रुपैयाँ रहेको छ। केयर रेटिङले दीर्घकालीन कर्जाका लागि ‘एनपी बीबी माइनस’ तथा अल्पकालीन कर्जाका लागि ‘एनपी ए फोर’ रेटिङ दिएको छ।
सन् २०२५ मा कम्पनीले करिब ४४ करोड रुपैयाँ बराबरको वित्तीय खर्च व्यहोरेको छ। कम्पनीका अधिकांश कर्जाहरू चलायमान ब्याजदरमा आधारित भएकाले बैंक तथा वित्तीय संस्थाको आधार दरमा हुने उतार–चढावले नाफा र नगद प्रवाहमा दबाब सिर्जना गर्ने जोखिम कायम छ। यद्यपि, पछिल्ला त्रैमासिकहरूमा बैंकहरूको आधार दर घट्दो क्रममा रहेकाले आगामी दिनमा केही राहत मिल्ने अपेक्षा गरिएको छ।
कम्पनीले सन् २०२५ मा १६ करोड रुपैयाँ नगद सञ्चिति कायम गरेको छ। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै ३८ करोड रुपैयाँ बराबरको कारोबार भइसकेको कम्पनीले जनाएको छ। साथै, सन् २०२५ को मे र जुन महिनामा सेनेटरी प्याड तथा बेबी डायपरका लागि बीआईएस प्रमाणपत्र प्राप्त गरेसँगै कम्पनीले निर्यात गतिविधि विस्तार गरेको छ, जसले आगामी वर्षमा आम्दानी र नगद प्रवाह सुधार हुने अपेक्षा गरिएको छ।
डायपर तथा सेनेटरी प्याड उद्योगमा विस्पर, स्टेफ्री, प्याम्पर्स, हगिज, म्यामी पोको प्यान्ट्सजस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको बलियो उपस्थिति रहेको छ। उक्त ब्रान्डसँग प्रतिस्पर्धा गर्नुपर्दा जेएचपीजस्ता स्वदेशी उत्पादकहरूको नाफा र बजार विस्तारमा चुनौती देखिएको हो।
१६ वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेको जेएचपी नेपालकै सारडा समूह अन्तर्गतको कम्पनी हो। कम्पनीको प्लान्ट विराटनगरमा रहेको छ । कम्पनीले अधिकांश कच्चा पदार्थ चीनबाट आयात गर्दै आएको छ । उत्पादन स्थल जोगबनी सीमा नजिक रहेकोले चीनबाट कोलकाता बन्दरगाह हुँदै आयात हुने कच्चा पदार्थमा ढुवानी खर्च कम हुनु पनि कम्पनीका लागि फाइदाजनक रहेको छ।
हाल कम्पनीको वार्षिक उत्पादन क्षमता सेनेटरी प्याड ५ करोड थान, डायपर ४ करोड ५० लाख थान र मास्क ६० लाख थान रहेको छ। देशभर १६५ डिलरमार्फत बिक्री गर्दै आएको कम्पनीले आगामी दिनमा निर्यातमार्फत कारोबार विस्तार गर्ने लक्ष्य लिएको छ।
कम्पनीको कुल ऋण–पुँजी अनुपात (गियरिङ रेसियो) सन् २०२३ मा ३.२२ गुणा रहेकोमा २०२४ मा ३.४२ गुणा र २०२५ मा ३.६२ गुणा पुगेको छ। यसैगरी, ब्याज तिर्ने क्षमता २०२४ मा १.५१ गुणा रहेकोमा २०२५ मा घटेर १.३७ गुणामा झरेको छ । जसले उच्च ऋणभारका कारण वित्तीय दबाब कायम रहेको देखिएको छ ।