Below Menu
Below Menu

भारत निर्यातको बलमा नारायणी आयलको व्यापार १० अर्ब नाघ्यो

भारत निर्यातको बलमा नारायणी आयलको व्यापार १० अर्ब नाघ्यो

काठमाडौं : नारायणी आयल रिफाइनरी उद्योग प्रालिले सन् २०२५ मा १० अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । केयर रेटिङ नेपालका अनुसार कम्पनीले एक वर्षमा १० अर्ब २१ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो, जुन अघिल्लो वर्षको तुलनामा १२२.६७ प्रतिशतले वृद्धि हो।

सन् २०२४ मा कम्पनीको व्यापार ५ अर्ब ६२ करोड ७० लाख रुपैयाँ रहेको थियो भने सन् २०२३ मा ६ अर्ब ४१ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो। भारत सरकारको अनुकूल भन्सार नीतिका कारण निर्यात तीव्र रूपमा बढेपछि कम्पनीको व्यापारमा उल्लेख्य वृद्धि देखिएको हो।

अघिल्लो आर्थिक वर्ष घाटामा रहेको नारायणी आयलको नाफा मार्जिनमा पनि सुधार देखिएको छ। कम्पनीको सञ्चालन नाफा मार्जिन १.९८ प्रतिशतबाट बढेर ७.७१ प्रतिशत पुगेको छ भने खुद नाफा मार्जिन ५.२९ प्रतिशत पुगेको छ। नाफासँगै कम्पनीको नगद प्रवाह पनि मजबुत बनेको छ। चालु वर्षमा सकल नगद आम्दानी ५७५ मिलियन रुपैयाँ पुगेको छ।

कम्पनीको कुल ऋण–पुँजी अनुपात (गियरिङ) ३.८९ गुणाबाट घटेर २.२१ गुणा पुगेको छ। साथै, ब्याज तिर्ने क्षमता ३.९ गुणा पुगेको छ, जसले कम्पनीको वित्तीय स्थायित्व क्रमशः बलियो बन्दै गएको देखिएको हो । 

दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत नेपालबाट भारतमा निर्यात हुने परिष्कृत खाद्य तेलमा तुलनात्मक रूपमा कम भन्सार लाग्ने व्यवस्थाले नेपाली रिफाइनरीहरूलाई प्रतिस्पर्धात्मक लाभ दिएको छ। यही नीतिगत सुविधाका कारण नारायणी आयलको भारततर्फ निर्यात हिस्सा कुल आम्दानीको करिब ६७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष केवल ४ प्रतिशत मात्र थियो।

कच्चा पदार्थ र विदेशी मुद्रा जोखिम कायम

खाद्य तेल प्रशोधन व्यवसाय कार्यशील पूँजीमा अत्यधिक निर्भर हुने उद्योग हो। नारायणी आयलले कच्चा पदार्थको पर्याप्त मौज्दात राख्नुपर्ने र ग्राहकलाई अधिकतम दुई महिनासम्म उधारो दिनुपर्ने अवस्था छ।

कम्पनीले प्रयोग गर्ने सोयाबिन, पाम ओलिन, सूर्यमुखी तथा क्रुड पाम आयल पूर्ण रूपमा आयातमा निर्भर छन्। यी कच्चा पदार्थको मूल्य अमेरिकी डलरसँग जोडिएकाले मूल्य उतारचढाव र विदेशी मुद्रा विनिमय दरको जोखिम कम्पनीको नाफामा प्रत्यक्ष असर पार्ने देखिन्छ। चालु वर्षमा कच्चा पदार्थ लागत कुल सञ्चालन आम्दानीको करिब ९० प्रतिशत रहेको छ।

खाद्य तेल उद्योग अत्यधिक प्रतिस्पर्धात्मक र खण्डित रहेकाले मूल्य निर्धारणमा उद्योगहरूको नियन्त्रण सीमित रहने गरेको छ।

वि.सं. २०४६ असोज ४ गते स्थापना भएको नारायणी आयल रिफाइनरी उद्योग बारा जिल्लाको लिपनिमालमा अवस्थित आधुनिक प्रशोधन प्लान्टमार्फत सञ्चालन हुँदै आएको छ। चाचन परिवार समूहअन्तर्गत रहेको यो उद्योग तीन दशकभन्दा बढी समयदेखि खाद्य तेल प्रशोधन क्षेत्रमा सक्रिय छ।

कम्पनीको वार्षिक जडित क्षमता १ लाख २८ हजार ५०० मेट्रिक टन रहेको छ। घरेलु बजारमा ‘त्रिशक्ति’, ‘स्माइल’, ‘आरोग्य’, ‘श्री’, ‘नीलमणि’, ‘कुन्दन’ र ‘नीलकमल’ ब्रान्डका खाद्य तेल बिक्री गर्दै आएको कम्पनीले फरक–फरक उपभोक्ता वर्गलाई लक्षित गर्दै आफ्नो बजार उपस्थितिलाई थप मजबुत बनाएको छ।

कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि कुल ५ अर्ब १७ करोड ४० लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ। यसमध्ये दीर्घकालीन कर्जा १ अर्ब ६५ करोड रुपैयाँ र अल्पकालीन कर्जा ३ अर्ब ५२ करोड ४० लाख रुपैयाँ रहेको छ।

केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीको दीर्घकालीन बैंक ऋण सुविधाका लागि ‘केयर–एनपी बीबी’ र छोटो अवधिको बैंक सुविधाका लागि ‘केयर–एनपी ए४ प्लस’ रेटिङ प्रदान गरेको छ, जुन अघिल्लो रेटिङभन्दा सुधारिएको हो।

Advertisment

थप समाचार